विराटनगर : मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि यतिबेला उम्मेदवारहरु चुनावी मैदानमा छन् ।
चुनावी प्रचारमा घर दैलो र विभिन्न स्थानमा कोणसभामा उम्मेदवारहरु सक्रिय रहेका बेला जनताले भने स्थानीय तहले नगरेका कामको आक्रोश पोख्ने गरेका छन् । विशेष गरी स्थानीय सरकारका रुपमा रहेका पालिकाहरुले गरेका बेथिती, त्यहाँ भएका भ्रष्टचार र जनतालाई गरिएका वेवास्ता बढीजसो गुनासो हुने गरेको छ । एकपटक निर्वाचित भइसकेको उम्मेदवार भन्दा नयाँ उम्मेदवारप्रति जनताको आशा र भरोसा बढी देखिने गरेको छ ।
मोरङ क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदी प्रतिनिधी सभा सदस्यको उम्मेदवार छन् । उनी यसअघि पनि दुई पटक सोहि क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भइसकेका छन् । यद्यपी उनले जनअपेक्षा अनुसार काम गर्न नसकेको स्थानीयको गुनासो छ । त्यहि भएर त्यस क्षेका जनताले पहिलो पटक उम्मेदवार बन्नुभएका नेकपा एमालेका नेता विनोद ढकालप्रति बढी विश्वास र भरोसा गरेको सुनाउँछन् ।
घर दैलोकै क्रममा विराटनगर– ३ मा पुगेका ढकाललाई त्यहाँको फलैँचामा जम्मा भएका स्थानीयले विराटनगर महानगरपालिकाका तत्कालिन मेयर भीम पराजुलीप्रतिको आक्रोश पोखे । दैनिक हजारौंको संख्यामा ठूला–ठूला सवारी साधन सञ्चालन हुने सडक निर्माणका क्रममा भएको भ्रष्टचार औल्याउँदै स्थानीयले ढकाललाई भने,‘हेर्नु यो सडक पिच गर्ने भनेर अनियमितता भएको छ, हामी दिनरात धुलो खाएर बस्नुपरेको छ । आज बाध्य भएर सडकमा ढाट लगाएर विरोधमा छौं । तपाईंहरुले यसको खबरदारी गरिदिन प¥यो ।’ यस्तै विराटनगर १ को घर दैलोमा पुग्नुभएका ढकाललाई पनि स्थानीयले महानगरपालिकाले अपेक्षाकृत जनताको काम गर्न नसकेको भन्दै विकासको पहरेदार बनिदिन आग्रह गरे ।
जवाफमा ढकालले आफु यस क्षेत्रको विकासकै लागि उम्मेदवार बनेको भन्दै सधैं जनताको साथमा रहेर अघि बढ्ने बताए । उनले भने,‘यस क्षेत्रमा धेरै काम गर्नुछ, समग्रमा यहाँका जनताको जीवनस्तर उकास्नु छ, अधुरा काम पूरा गर्नुछ, मिलेर अघि बढौं म सधैं तपाईहरुको साथमा हुनेछु ।’
प्रतिनिधी सभा जस्तै प्रदेश तर्फ पनि उस्तै गुनासा र अपेक्षा आउने गरेको छ । क्षेत्र नम्बर ४ (१) मा नेपाली कांग्रेसका गुरुराज घिमिरे र नेकपा एमालेका जयप्रकाश चौधरी बीच प्रतिष्पर्धा छ । घिमिरे नेपाली कांग्रेसबाट लामो समयदेखि सोहि क्षेत्रबाट राजनीति गर्दै आउनुभएको छ भने चौधरी विभिन्न सामाजिक क्षेत्रमा लामो समय काम गरेर राजनितीमा आएका युवा नेता हुन । बौद्धिक व्यक्तित्वको छवि बनाएका चौधरीसँग स्थानीयको भरोसा बढी रहेको पाइन्छ । ‘नयाँ हुन्, केहि गर्छन् भन्ने लागेको छ’ ग्रामथानको एक चियापसलमा भेटिएका रामनारायण राजबंशीले भने ।
यता ४ (२)मा भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भीम पराजुली र नेकपा एमालेबाट जीवन घिमिरे उम्मेदवार बनेका छन् । पराजुली विराटनगर महानगरका पूर्व मेयर हुन् भने घिमिरे प्रदेश १ का सामाजिक विकास मन्त्री हुन् । पराजुलीसँग महानगरबासी आक्रोशित छन् भने पार्टी भित्रै चर्को गुटबन्दी गर्ने उनलाई पार्टीभित्रकै ठूलो असहयोग रहने कांग्रेस कार्यकर्ताको बुझाई छ ।
महानगरको नेतृत्व पराजुलीले गरिरहँदा विभिन्न विवादमा तानिएको तथा महानगरको आर्थिक अवस्था डामाडोल बनाएको आरोप पराजुलीलाई लाग्ने गरेको छ । उता घिमिरेप्रति भने प्रदेश सरकारमा रहँदा उल्लेख्य काम गर्ने नेताका रुपमा चित्रण गर्ने गरिएको छ । कोरोनाको महामारिमा घिमिरेले खेलेको भूमिका, सिंघिया खोलाको सरसफाई, शिक्षाको गुणस्तरवृद्धिका लागि खेलेको भूमिकादेखि खेलकुद क्षेत्रमा उनले गरेको योगदानको निकै चर्चा हुने गरेको छ । तिनै कामको स्मरण गर्दै क्षेत्रका जनताले घिमिरेप्रति नै बढी विश्वास गरेको पाइन्छ ।