Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोइराला समूहका नेतामाथि कारबाही, शेखरले बोलाए बैठक



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्ना समूहका नेताहरूमाथि पार्टीले अनुशासनको डण्डा चलाएपछि समूहका नेताहरूको बैठक बोलाएका छन्। बैठक कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बसिरहेको छ ।

भर्खरै सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाको कार्यशैलीमाथि खुलेर प्रश्न उठाएका कोइरालाको समूहलाई लक्षित गर्दै पार्टी केन्द्रीय अनुशासन समितिले १८ जना नेतामाथि कारबाही गरेको छ।

अनुशासन समितिले सार्वजनिक गरेको कारबाही सूचीमा अधिकांश शेखर समूहका नेता–कार्यकर्ता परेका छन्। उनीहरूलाई २०७९ को प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेद्वारविरुद्ध उभिएको आरोप लागेको थियो।

कारबाहीमा परेका नेतामध्ये कोशी प्रदेशका दुई शीर्ष नेता — खोटाङका जिल्ला सभापति विष्णुकुमार राई र तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा — पार्टीको साधारण सदस्यबाटै एक वर्षका लागि निष्कासनमा परेका छन्। दुवै जना कोइराला समूहका हुन्।

१५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिन तयारीसहित देशव्यापी अभियानमा रहेका कोइरालाले कार्यशैलीमा प्रश्न उठाएपछि केही दिनमै आफ्ना पक्षका नेताहरूलाई ‘छानीछानी’ कारबाही गरिएको भन्दै संस्थापनइतर समूहले रोष प्रकट गरेको छ।

कोइरालाले अनुशासन समितिको काम र निष्पक्षतामाथि समेत प्रश्न उठाउँदै आफ्ना पक्षका नेताहरूको धारणा र आगामी रणनीति तय गर्न बैठक बोलाएका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार