काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबारदेखि जारी छ । दोस्रो दिन आजसम्म ३५ जना केन्द्रीय पदाधिकारी र सदस्यहरूले आफ्ना धारणा व्यक्त गरेका छन्।
सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको आजको बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, उमा रेग्मी, जीपछिरिङ लामा, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, डा. डिला सङ्ग्रौला, रमेश लेखक, किरण यादव, लक्ष्मी परियार, कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, चन्द्रबहादुर केसी, मानबहादुर नेपाली, उदयशमशेर राणा, दिलमान पाख्रिन, रामहरि खतिवडा, विनोदकुमार चौधरी, गुरू बराल, उर्मिला नेपाल केसी, सीताकुमारी राना, राधा घले, सीतादेवी देवकोटा, शारदा पौडेल र आमन्त्रित सदस्य पुष्पराज पराजुलीलगायतले विभिन्न प्रस्तावहरूमा आफ्नो धारणा प्रस्तुत गरेका हुन् ।
बैठकमा पार्टीको १०० दिने अभियान प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन, अनुशासन समितिको प्रतिवेदन, क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण, भ्रातृ तथा शुभेच्छुक संस्थाबारे राय, नेपाली जनसम्पर्क समिति सम्बन्धी व्यवस्थापन तथा विस्तार लगायतका विषयमा केन्द्रीय सदस्यहरूले विचार व्यक्त गरेका छन् ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, धारणा राख्ने क्रम अझै जारी रहेकोले बैठक पुनः भोलि (बुधबार) असार १८ गते दिउँसो १२ः३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बैठकमा उपसभापति एवं प्रतिष्ठान प्रमुख पूर्णबहादुर खड्काले निर्देशिका संशोधनसम्बन्धी प्रस्ताव तथा प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यस्तै, महामन्त्री गगनकुमार थापाले बैठकका एजेण्डाहरू प्रस्तुत गर्दै क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण, केही भ्रातृ संस्थासम्बन्धी निर्णय, तथा जनसम्पर्क समितिको व्यवस्थापन विषयमा प्रस्ताव पेश गरेका थिए।
बैठकमा संसद् र सरकारमा पार्टीको भूमिका, समसामयिक राजनीतिक परिस्थिति तथा विभिन्न एजेन्डामा समेत गहिरो छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ।