विराटनगर । नेकपा एमाले मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार जीवन घिमिरेले पहिलो चरणको घरदैलो अभियान सम्पन्न गर्दै आफ्नो पक्षमा बलियो जनसमर्थन देखिएको दाबी गरेका छन् । फागुन १३ गतेसम्म क्षेत्रका सबै २३ वटै वडामा पुगेर गरिएको अभियानले चुनावी माहोल तातेको उनको भनाइ छ ।
उनका अनुसार अभियानका क्रममा करिब २० हजारभन्दा बढी घरधुरीमा प्रत्यक्ष भेटघाट गरिएको छ । मतदातासँग साक्षात्कार गर्दै स्थानीय समस्या, गुनासा र सुझाव संकलन गरिएको उनले बताए । घरदैलोका क्रममा आम सर्वसाधारण र शुभेच्छुकहरूको उत्साहजनक उपस्थितिले आफ्नो पक्षमा सकारात्मक माहोल बनेको उनको दाबी छ ।
अभियानलाई व्यवस्थित बनाउन वडा स्तरीय २३ परिचालन समिति, क्षेत्रीय संयन्त्र, प्रचार–प्रसार, सामाजिक सञ्जाल, युवा, महिला तथा पेशागत क्लस्टर गठन गरिएको र ती संरचनामार्फत करिब ३ हजार कार्यकर्ता परिचालन गरिएको घिमिरे पक्षले जनाएको छ । वडा कमिटीहरूले निरन्तर बैठक र भेला गर्दै अभियानलाई टोल टोलमा विस्तार गरिरहेका छन् ।
पहिलो चरण सकिएसँगै अब अभियानलाई अझ सूक्ष्म र अन्तरक्रियात्मक बनाइने जनाइएको छ । दोस्रो चरणमा टोल–टोलमा साना समूहगत भेला, सामुदायिक अन्तरक्रिया तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने रणनीति अघि सारिएको छ । स्थानीय आवश्यकता र विकास योजनामाथि प्रत्यक्ष छलफल केन्द्रित कार्यक्रमहरू गर्ने तयारी गरिएको छ ।
२३ वटै वडामा पाएको न्यानो स्वागत र समर्थनलाई आधार मान्दै घिमिरेले उच्च बहुमतसहित विजयी हुने विश्वास व्यक्त गरेका छन् । मोरङ–४ मा चुनावी गतिविधि तीव्र बन्दै जाँदा घरदैलो अभियानपछि सुरु हुने टोल केन्द्रित कार्यक्रमले प्रतिस्पर्धालाई थप रोचक बनाउने देखिएको छ ।