विराटनगर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार जीवन घिमिरेले मतदाताका सुझाव समेटेर समग्र विकासमा केन्द्रित प्रतिबद्धता पत्र सार्वजनिक गर्ने बताएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार रहेका घिमिरेले यो क्षेत्र विकास निर्माणको आवश्यक्ता बुझ्दै मतदातासँग अन्र्तक्रिया गरिरहेका छन् । उनले मतदाताबाट सुझाव संकलन गरिएको जानकारी दिँदै निर्वाचन आयोगले निर्धारण गरेको समयसीमाभित्रै प्रतिबद्धता पत्र सार्वजनिक गरिने बताए ।
प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको उम्मेदवारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै घिमिरेले प्रतिबद्धता पत्र तयारीका क्रममा जनतासँग प्रत्यक्ष छलफल, सुझाव संकलन तथा क्षेत्रगत आवश्यकता विश्लेषण गरिएको जानकारी दिए । नेता घिमिरे आफ्नो चुनावी अभियान परिणाममुखी हुने स्पष्ट पार्दै मोरङ–४ लाई समृद्ध र व्यवस्थित बनाउने दीर्घकालीन योजनासहित अघि बढ्ने जनाए ।
यसअघि कोशी प्रदेश सरकारको मन्त्री हुँदा समेत काम गर्ने मन्त्रीको छवि बनाएका घिमिरे परिणाममुखी नेताका रुपमा चिनिन्छन् । गर्न सक्ने कामको विवरण बनाएर अघि बढ्ने लक्ष्यका साथ क्षेत्रबाट सुझाव संकलन गरिएको बताए ।
घिमिरेका अनुसार मतदाताले सडक स्तरोन्नति, डुवान समस्या समाधान, गुणस्तरीय स्वास्थ्य उपचारको पहुँच विस्तार तथा कृषिको आधुनिकीकरणलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् । “पार्टी सदस्यमार्फत घरदैलो र भेटघाट अभियानलाई तीव्र बनाइएको छ,” उनले भने, “फागुन ४ गतेदेखि टोलसभा, कोणसभा र चुनावी सभाहरू सञ्चालन गरिनेछन्।”
प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्तापछिको भेटघाट कार्यक्रममा अभूतपूर्व सहभागिता पाएको उल्लेख गर्दै उनले निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रचारप्रसारको औपचारिक समय सुरु भएपछि जनलहर अझ व्यापक हुने दाबी गरे । “फागुन ४ गतेपछि मोरङ–४ मा एमालेको जनसमर्थन थप सशक्त रूपमा देखिनेछ,” उनले भने ।
घिमिरे कोशी प्रदेश सरकारका संस्थापक सामाजिक विकास मन्त्रीसमेत हुन् । उनकै नेतृत्वमा नेपालकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहन प्राविधिक विश्वविद्यालयको स्थापना प्रक्रिया अघि बढाइएको थियो ।
उनले सामाजिक विकास मन्त्रालयको नेतृत्व सम्हाल्दा सरकारी विद्यालयमा ‘एक विद्यालय–एक नर्स’ कार्यक्रमको अवधारणा अघि सारेका थिए । कोरोना महामारीका बेला १५ दिनमै अत्याधुनिक कोरोना अस्पताल निर्माण, विराटनगरमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना, महिला तथा बालबालिकाका लागि दीर्घकालीन पुनस्र्थापना गृह सञ्चालन, घरेलु हिंसा नियन्त्रण ऐन निर्माण, लैंगिक हिंसा निवारण कोष व्यवस्था, ‘आत्मनिर्भर छोरी’ कार्यक्रम, अपांगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम तथा ज्येष्ठ नागरिक हातेमालो केन्द्र निर्माण जस्ता पहलहरू उनकै कार्यकालमा अघि बढाइएका थिए ।
उनले अबको निर्वाचन विकास, सुशासन र स्थायित्वका लागि जनमत प्राप्त गर्ने अवसर भएको उल्लेख गर्दै मतदाताको सुझावलाई केन्द्रमा राखेर कार्ययोजना सार्वजनिक गर्ने दोर्होयाए ।