काठमाडौँ : नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा भएका त्रुटिलाई परिमार्जन गर्ने जनाएको छ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचन आयोगले दिएको समावधिभित्र समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीको त्रुटि सच्याउने बताएका हुन्।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची गत २ र ३ असोजमा कांग्रेससहितका दलहरुले निर्वाचन आयोगमा बुझाएका छन्। उक्त सूचीमा भएका त्रुटि सच्याउन आयोगले १६ असोजसम्म समय दिएको छ।
उक्त समयभित्र सच्याउने प्रवक्ता महतले बताए। ‘निर्वाचन आयोगमा प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची पेस गर्ने कार्य सम्पन्न गरिसकेको छ। समानुपातिक बन्द सूचीमा भएका त्रुटिहरु परिमार्जन निर्वाचन आयोगले दिएको समयसीमा भित्र गरिनेछ,’ पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा उल्लेख छ।