तस्बीरहरु : एन्फा
विराटनगर : लगतार ५ पटक महिला साफ च्याम्पियन बनेको भारतलाई हराउँदै नेपालले इतिहास रचेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा भारतलाई १–० ले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो ।
महिला साफमा भारतविरुद्ध नेपालको यो पहिलो जित हो । यस अघिका प्रतियोगितामा चार पटक फाइनल प्रवेश गरेको नेपाल भारतसँग पराजित हुँदै आएको थियो ।
भारतजस्तो बलियो टिमलाई हराउन नेपालका लागि रश्मिकुमारी गुरुङले निर्णायक गोल गरिन् । घरेलु मैदान दशरथ रंगशलामा भएको खेलको पहिलो हाफको इन्ज्युरी समयमा रश्मिले गरेको गोलले नै नेपालका लागि इतिहास रच्ने गोल बन्यो । नेपालले भारतलाई पहिलो पटक पराजित गर्यो ।
नेपाल यस अघिका पाँचवटै संस्करणमा भारतसँग पराजित भएको थियो । भारतविरुद्ध जित निकाल्न नेपाल १२ वर्षदेखि प्रतिक्षामा रहेको थियो ।
भारतको दवदवा रहेको साफमा भारतको पराजयसँगै अब प्रतियोगिताले नयाँ च्याम्पियन पाउने भएको छ । नेपालमा जारी छैटौं संस्करणको उपाधि विजेता टोली महिला साफको नयाँ च्याम्पियन राष्ट्र बन्ने छ ।
उपाधिका लागि नेपाल र बंगलादेश भिड्नेछन् । फाइनल खेल सोमबार हुँदै छ । पाचौँ पटक फाइनल प्रवेश गरेको नेपाल उपाधि हत्याउने दाउमा छ । यता, बंगलादेश पनि दोस्रो पटक फाइनल प्रवेश गरेको हो ।
सन् २०१० बाट महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु भएको हो । साफको पहिलो संस्करण २०१० को डिसेम्बर १२ देखि २४ सम्म बंगलादेशमा आयोजना भएको थियो ।
बंगलादेशको कक्स बजार स्टेडियममा भएको च्याम्पियनसिपमा ८ राष्ट्रले सहभागिता जनाएका थिए ।
पहिलो संस्करणको फाइनलमा नेपाल र भारत पुगेका थिए । फाइनलमा नेपाललाई १–० गोलले हराउदँै भारतले पहिलो साफ च्याम्पियनसिपको उपाधि जितेको थियो ।
श्रीलंकामा आयोजना भएको साफको दोस्रो संस्करण (२०१२) मा ८ टिमको सहभागिता थियो । कोलोम्बोस्थित सिआर एण्ड एफसी ग्राउण्डमा सेप्टेम्बर ७ देखि १६ सम्म प्रतियोगिता चलेको थियो ।
दोस्रो संस्कराण्को फाइनलमा नेपाल र भारतको दोस्रो पटक भेट भयो । अघिल्लो संस्करणमा व्यहोरेको हारको बदला लिदँै उपाधि जित्ने होडमा रहेको नेपाल फाइनलमा पराजित भयो ।
खेलको तेस्रो मिनेटमै अग्रता लिएको नेपालले त्यो अग्रता कायम राख्न सकेन । आठौँ मिनेटमा गोल खादैँ खेल बराबरीमा फर्किएको थियो ।
पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा दुई गोल खादैँ उपविजेतामा चित्त बुझायो । नेपाल विरुद्ध ३–१ को जित निकाल्दै भारत दोस्रो पटक विजेता बन्यो ।
पाकिस्तानमा आयोजना भएको साफको तेस्रो संस्करण (२०१४) मा लगातार उपाधि जित्दै भारतले ह्याट्रिक गर्यो । यता, नेपालले पनि लगातार तीन पटक फाइनलमा हार्दै हारमा ह्याट्रिक गर्यो ।
नोभेम्बर ११ देखि २१ सम्म पाकिस्तानको इस्लामावादस्थित जिन्नाह स्पोट्र्स स्टेडियममा भएको खेलमा भारतले ६–० को फराकिलो जित निकाल्दै तेस्रो पटक च्याम्पियन बनेको थियो ।
२०१६ मा चौथो संस्करण भारतमा आयोजना भयो । डिसेम्बर २६ देखि जनवरी ४ सम्म आयोजना भएको प्रतियोगितामा ७ टिम सहभागी भएका थिए । प्रतियोगितामा पाकिस्तानले सहभागीता जनाएको थिएन ।
घरेलु टिम भारतले नेपाललाई सेमिफाइनलमा फराजित गर्दै फाइनल प्रवेश गरेको थियो । फाइनलमा बंगलादेशलाई पराजित गर्दै भारत लगातार चौथो पटक च्याम्पियन बन्यो । फाइनलमा बंगलादेश ३–१ ले पारजित भएको थियो ।
नेपालमा आयोजना भएको पाचौँ संस्कारण (२०१९) मार्च १२ देखि २२ सम्म विराटनगरमा आयोजना भएको थियो । प्रतियोगितामा ६ टिम मात्र भएका थिए ।
चौथो संस्करणको सेमिफाइनलबाटै बाहिरिएको नेपाल पाचौँ संस्करणमा फाइनल प्रवेश गरेको थियो । लगातार ४ पटक भारतसँग हारेको नेपाल पुनः फाइनलमा भारसँग पराजित भयो । नेपाललाई ३–१ गोलले पराजित गर्दै भारतले लगातार पाचौँ पटक महिला साफको उपाधि जितेको थियो ।

