Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

टप एन्ड टी–२० सिरिजमा पाकिस्तानसँग नेपाल १ रनले पराजित, सेमिफाइनल यात्रामा पूर्णविराम



बिराटनगर । टप एन्ड टी–२० सिरिजमा पाकिस्तान शाहीन्सले नेपाललाई १ रनको झिनो अन्तरले हराएको छ । यस हारसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ ।

जितका लागि १ सय ४५ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४३ रनमा सीमित रह्यो ।

नेपालका ओपनर कुशल भुर्तेल ४ रनमा आउट भए भने अर्का ओपनर आशिफ शेख र कप्तान रोहित पौडेलले दोस्रो विकेटका लागि ५२ रनको साझेदारी गरे । आशिफ २७ रनमा आउट भए भने कप्तान रोहितले ४४ बलमा ६ चौका र १ छक्कासहित ५२ रन बनाए ।

त्यसपछि दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिमसम्म संघर्ष गरे । उनले २१ बलमा ४१ रन बनाएर टोलीलाई जितको नजिक पुर्‍याए पनि अन्तिम क्षणमा साथ नपाउँदा नेपाल निराश बन्न बाध्य भयो ।

अन्तिम ओभरमा नेपाललाई जितका लागि ८ रन आवश्यक थियो तर ६ रन मात्र बनाउन सक्यो । अन्तिम बलमा ३ रन आवश्यक हुँदा दीपेन्द्र १ रन बनाएपछि रन आउट भए र नेपाल १ रनले हार स्वीकार्न बाध्य भयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको थियो ।

पाकिस्तानको इनिङ्समा कप्तान इरफान खानले २६ बलमा ३ चौका र १ छक्कासहित अविजित ४२ रनको योगदान दिए । यासिर खानले १८, अब्दुल समादले २६ रन जोडे भने अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन् ।

बलिङतर्फ नेपालका सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए । नन्दन यादव र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट झारे भने सन्दीप लामिछाने र कुशल मल्लले १–१ विकेट लिए ।

नेपालले सिरिजका ६ खेलमध्ये २ मा मात्र जित हात पार्दा ४ खेलमा पराजित भएको छ । यससँगै नेपालको टप एन्ड टी–२० सिरिजको यात्रा समाप्त भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार