Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

यू-२० साफ : श्रीलंका विरुद्ध नेपाल ३-० गोलले विजयी


  • Purbeli Press
  • बुधबार, साउन ११ २०७९

नेपालले साफ यू-२० च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित निकालेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार श्रीलंकालाई ३-० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

नेपाललाई जित दिलाउन कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे । पहिलो हाफमा श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको नेपालले ५८ औं मिनेटमा कप्तान आयुषको गोलबाट अग्रता बनाएको थियो ।

अभिषेक वाइवाको क्रसलाई श्रीलंकाली गोलकिपरले पन्च गरेपछि रिवाउन्डमा आएको बललाई आयुषले हाफ भलीमार्फत गोल गरे ।

खेलको ६५ औं मिनेटमा कृतिसले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । कप्तान आयुषले मिलाएको सर्ट पासलाई कृतिसले टप कर्नरमा सुन्दर गोल गरे ।

त्यसपछि खेलको ८४ औं मिनेटमा सुगमको पासमा मनग्यले गोल गर्दै नेपाललाई ३-० को जित दिलाए । जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ । नेपाल फाइनल नजिक समेत पुगेको छ ।

यस्तै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस अघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो ।

श्रीलंकाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १-० गोल अन्तरले हराएको थियो । च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् । नेपालले अब तेस्रो खेलमा भारतसँग आइतबार खेल्नेछ ।

यस्तै अन्तिम खेलमा नेपालले बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार