Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेपालका उद्योगले कर्मचारीलाई दिन्छन् १ खर्ब ७ अर्ब तलब



काठमाडौ । नेपालमा उद्योगहरुले तलब ज्याला तथा सुविधा गरेर वर्षमा १ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ।
एक वर्ष लगाएर उत्पादनमूलक उद्योग, खानी तथा उत्खनन, विद्युत, ग्यास बाफ तथा वातावरण अनुकूलका सेवा, पानी आपूर्ति, फोहोर व्यवस्थापनका क्षेत्रमा सर्वेक्षण भएको थियो।
सो सर्वेक्षणले एक वर्षमा कर्मचारी तथा मजदुरलाई १ खर्ब ७ अर्ब बढी ज्याला दिएको पाइएको हो।
केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय औद्योगिक सर्वेक्षणले गरेको थियो। २०७५ साउन १ देखि २०७६ असार मसान्तसम्मको तथ्याङ्क लिएर गरेको सर्वेक्षणको नतिजा भर्खरै सार्वजनिक गरेको हो।
उक्त सर्वेक्षणअनुसार ज्यालामा खर्च हुने १ खर्ब ७ अर्ब ८९ करोड मध्ये उत्पादनमूलक उद्योगमा ९५ अर्ब ७७ करोड, खानी तथा उत्खनन क्षेत्रमा १ खर्ब ८० करोड, विद्युत तथा ग्यास सेवा क्षेत्रमा ६ अर्ब ९२ करोड, पानीको आपूर्ति तथा फोहोर व्यवस्थापनमा ३ अर्ब ४० करोड रुपैयाँ खर्च भएको देखिएको छ।
सर्वेक्षण भएको क्षेत्रअनुसार नियमित रुपले तलब, ज्याला लिने गरी कार्यरत कर्मचारी तथा कामदार पर्छन्। सर्वेक्षणको नतिजाअनुसार औद्योगिक क्षेत्रका चारवटै प्रकारका औद्योगिक प्रतिष्ठानहरुमा रहेका तलबी कामदारको संख्या ३ लाख ८१ हजार ६८७ छ।
तीमध्ये खानी तथा उत्खनन क्षेत्रमा ५ हजार ७१९ जना औद्योगिक उत्पादनशील क्षेत्रमा ३ लाख ४६ हजार १४३ जना विद्युत् ग्यास, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा १७ हजार २ सय ३८ जना र पानीको आपूर्ति, ढल निकास, फोहर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापको क्षेत्रमा १२ हजार ५८७ जना छन्।
सर्वेक्षणको नतिजाअनुसार अहिले ६० हजार १८५ उद्योग प्रतिष्ठान सञ्चालनमा छन्। तीमध्ये खानी तथा उत्खननमा ३५६ वटा, औद्योगिक उत्पादनमा ५६ हजार ६११ वटा, विद्युत, ग्यास, बाफ तथा वातानुकूलित सेवामा ९९४ वटा र पानीको आपूर्ति, ढल निकास, फोहर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापको क्षेत्रमा २ हजार २२४ वटा उद्योग प्रतिष्ठान रहेको सर्वेक्षणले देखाएको हो।
उद्योग प्रतिष्ठानमा संलग्न व्यक्तिको संख्या भन्नाले प्रतिष्ठानमा सक्रियरुपले कार्यरत व्यवसायी तथा साझेदार, बेतलबी पारिवारिक कामदार र तलबी कामदार पर्छन्। सर्वेक्षणको नतिजाअनुसार औद्योगिक क्षेत्रका चारै प्रकारका औद्योगिक प्रतिष्ठानमा संलग्न व्यक्तिको संख्या ४,९१,२२७ रहेको छ । तीमध्ये खानी तथा उत्खनन् क्षेत्रमा ६,४८५ जना, औद्योगिक उत्पादन क्षेत्रमा ४,४४,९६४ जना, विद्युत्, ग्यास, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा २१,५९३ जना र पानीको आपूर्ति, ढल निकास, फोहर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापको क्षेत्रमा १८,१८५ जना संलग्न छन्। नेपालखबरबाट

प्रतिक्रिया
सम्बन्धित समाचार