सुनसरी । सुनसरी जिल्लामा हिउँदे मकैको उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार आर्थिक वर्ष २०८/र८२ मा हिउँदे मकै उत्पादन अघिल्लो वर्षको तुलनामा २.३८ प्रतिशतले बढेको छ।
केन्द्रका सूचना अधिकारी प्रविनलाल श्रेष्ठका अनुसार आव २०८०र८१ मा १० हजार ६४० हेक्टर क्षेत्रफलबाट ८३ हजार १२ मेट्रिकटन मकै उत्पादन भएको थियो भने चालू वर्ष २०८१/८२ मा त्यही क्षेत्रफलबाट ८४ हजार ८०२ मेट्रिकटन मकै उत्पादन भएको छ। उत्पादन वृद्धिको प्रमुख कारण उन्नत जातको हाइब्रिड मकै प्रयोग गरिएको जनाइएको छ।
श्रेष्ठले किसानहरूले रामपुर हाइब्रिड १०, पार्नियर ३३, ३५ र ५३ जस्ता उन्नत जातका मकै बढी लगाउने गरेको जानकारी दिए। विशेषगरी वराहक्षेत्र नगरपालिका–११ का किसान रोशन गुप्ताले बाँझो दुई बिघा जमिनमा मकैखेती गरेर ९० क्विन्टलभन्दा बढी मकै उत्पादन गरेका छन्। उनका अनुसार उत्पादन भएको मकै स्थानीय बजारमै प्रतिकेजी रु। ३२ देखि ३५ मा बिक्री भइरहेको छ।
हिउँदे मकै अन्य बालीको तुलनामा छिटो पाक्ने, मेहनत र लागत कम लाग्ने तथा बजारको समस्या नहुने भएकाले किसानको आकर्षण बढ्दै गएको बताइएको छ। मङ्सिर र पुसमा रोपिने मकै चैत र वैशाखमा पाक्ने गर्दछ, जसलाई करिब १४०–१५० दिन लाग्ने कृषि ज्ञान केन्द्रले जनाएको छ।
केन्द्रले किसानलाई तालिम, प्राविधिक सहयोग र परामर्श सेवा पनि निरन्तर प्रदान गर्दै आएको छ। हाल सुनसरीको भोक्राहा, देवानगञ्ज, इनरुवा, दुहबी, कोशी, हरिनगरा र वराहक्षेत्रलगायतका क्षेत्रमा हिउँदे मकैखेती फैलिँदै गएको छ। किसानहरू उत्पादन वृद्धिसँगै उत्साहित देखिएका छन्।