विराटनगर । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको बजेट यथार्थपरक, सन्तुलित र विकासमुखी रहेको बताएका छन्।
हिजो प्रदेशसभामा प्रस्तुत बजेटबारे जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मगरले कृषि, स्वास्थ्य, सिँचाइ, ऊर्जा, सडक पूर्वाधार, सवारी अनुमतिपत्र तथा विपद् व्यवस्थापनलगायत क्षेत्रमा नयाँ कार्यक्रम समेटिएको जानकारी दिए।
“यो बजेटले समावेश गरिएका कार्यक्रम र सुधार योजनाले प्रदेशको समग्र विकासमा सहयोग पुर्याउनेछ,” मन्त्री मगरले भने। उनले हालसालै सम्पन्न लगानी सम्मेलनमा निजी क्षेत्रको सहभागिता र २०८२ लाई ‘पर्यटन वर्ष’ घोषणालाई ध्यानमा राखी उद्योग प्रवर्द्धन, रुग्ण उद्योगको पुनर्जीवन र पर्यटन विस्तारलाई टेवा पुर्याउने गरी विभिन्न खाले कर छुटको व्यवस्था गरिएको बताए।
मन्त्री मगरका अनुसार बजेटले प्रस्ताव गरेका सुधार कार्यक्रमबाट आन्तरिक राजस्व ५ अर्ब ५० करोडसम्म पुग्ने अनुमान गरिएको छ। कोशी प्रदेश सरकारले आगामी वर्षका लागि कुल ३५ अर्ब ८७ करोड ९९ लाख को बजेट प्रस्ताव गरेको छ । मन्त्री मगरले प्रस्तुत बजेटले प्रदेश सरकारका प्राथमिकता र नीतिगत दिशालाई प्रस्ट्याउने र प्रभावकारी कार्यान्वयन भएमा सकारात्मक परिणाम दिने विश्वास व्यक्त गरे।