CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा कारोबार रकम उल्लेख्य रूपमा बढेको छ। अघिल्लो दिनको तुलनामा आज कारोबार ३ अर्ब रुपैयाँले बढेर १० अर्ब ८७ करोड पुगेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार ७ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने आज १० अर्ब ८७ करोड रुपैयाँको कारोबार भएको हो। कारोबार रकम बढेसँगै नेप्से परिसूचक पनि सामान्य वृद्धि भएको छ।
आज नेप्से परिसूचक ३.५८ अंकले बढेर २६६१ विन्दुमा पुगेको छ। कारोबारकै क्रममा परिसूचक १२:२५ बजे २६८४ अंकसम्म पुगेको थियो।
क्षेत्रगत सूचकहरू हेर्दा लगानी समूह सबैभन्दा धेरै १.७७ प्रतिशतले बढ्दा फाइनान्स समूह १.०५ प्रतिशतले घटेको छ। होटल तथा पर्यटन ०.३८, हाइड्रोपावर १.०६, उत्पादन ०.४१ र व्यापार समूह १.१८ प्रतिशतले बढेका छन् भने बैंकिङ ०.३९, विकास बैंक ०.०२, जीवन बीमा ०.११, माइक्रोफाइनान्स ०.९४, निर्जीवन बीमा ०.३३ र अन्य समूह ०.५७ प्रतिशतले घटेका छन्।
आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ। नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य प्रतिकित्ता १ हजार ४२ रुपैयाँ ५० पैसामा पुग्दा, क्रेस्टको मूल्य ८ सय ६१ रुपैयाँ ९० पैसामा पुगेको हो।
त्यस्तै भूगोल इनर्जी, ङादी ग्रुप पावर, सानिमा माइ हाइड्रोपावर र अरुणभ्याली हाइड्रोपावरका सेयर मूल्य पनि उल्लेख्य रूपमा बढेका छन्।
आज धेरै कारोबार भएका कम्पनीहरूमा ङादी ग्रुप पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, एचआईडीसीएल र एचआईडीसीएल प्रमोटर रहेका छन्।