Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेकपा एमाले मोरङको अधिवेशन सुरु हुँदै



विराटनगर । नेकपा एमाले मोरङको १० औँ जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै छ । आज दिउँसोबाट सुरु हुने अधिवेशनका लागि जिल्ला भरबाट ९१४ जना प्रतिनिधि भेला हुँदै छन् । अधिवेशनको उद्घाटन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने जनाइएको छ । फागुन १८ गते निर्वाचन कार्यक्रम प्रकाशन गर्दै नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउने तयारी रहेको संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीले बताए ।

अधिवेशनको बन्दशत्र सञ्चालनका पार्टी केन्द्रीय कमिटी सदस्य जिवन घिमिरेको अध्यक्षतामा केन्द्रीय सदस्य रामलाल साह, प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारी, केन्द्रीय सल्लाहकार कमिटी सदस्य यशोदा अधिकारी, पूर्वअध्यक्ष ऋषिकेश पोखरेल, प्रदेश कमिटी सदस्य खेम नेपाली रहेको ७ सदस्यीय अध्यक्ष मण्डलको प्रस्ताव गर्ने तयारी रहेको जनाइएको छ ।

नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको संयोजकत्वमा डिल्ली घिमिरे, विश्वराज भट्टराई, विवेक तिम्सिना, सञ्जय मेहता, अविनारायण श्रेष्ठ, राधा उराव, सविता घिमिरे र सुष्मा अधिकारी रहेको ७ सदस्यीय निर्वाचन कमिटी गठन गरेको जनाइएको छ ।

त्यस्तै यज्ञ शर्माको संयोजकत्वमा रूपेश खतिवडा, केदार कार्की, कञ्चनकला वर्मा र डिल्ली कर्ण प्रसाई रहेको पाँच सदस्यीय माइन्युट लेखन कमिटी गठन गरिएको अध्यक्ष कार्कीले बताए ।
पार्टीको नयाँ नेतृत्वको लागि अहिलेका अध्यक्ष कार्की, नेता राजकुमार ओझा, सागर थापा, अजम्बर राई आकाँक्षी देखिएका छन् । कार्की र ओझा मध्ये एक जना संस्थापन पक्षबाट र थापा र राई मध्ये एक जना विनोद ढकाल समूहबाट अध्यक्षको प्रतिस्पर्धी बन्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार