विराटनगर । विराटनगर २ मा रहेको सृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक बर्ष २०८०/८१ मा १ करोड ७१ लाख बढी आम्दनी गरेको छ ।
गएको एक वर्षमा १ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको संस्थाका व्यवस्थापक प्रकाश सापकोटाले बताए । विराटनगरमा शनिवार सम्पन्न भएको सो सहकारीको २८ औं साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुदै संस्थाका अध्यक्ष मोहनप्रसाद भट्टराईले सहकारीहरुका निम्ति प्रतिकुल अवस्था रहेपनि सृष्टि सहकारीले सन्तोषजनक अवस्था रहेको बताए । यो अवधिमा सहकारीले २५ करोड ९९ लाख बढीको कारोबार तथा १ करोड ६६ लाख कुल खर्च गरेको छ ।
साधारण सभामा असल बचतकर्ता र असल ऋणिकोरुपमा ४ जना शेयर सदस्यलाई पुरस्कृत गरिएको थियो । असल बचतकर्तातर्फ बुढीगंगा गाउपालिका १ का लक्ष्मी परियार र विराटनगर ३ का विनोद खतिवडालाई पुरस्कृत गरिएको थियो । यस्तै असल ऋणितर्फ रंगेली नगरपालिका २ का बिष्णुकुमार थारु र धनपालथान गाउपालिका ३ कि देवन्ती कुमारी राजवंशीलाई पुरस्कृत गरिएको थियो । सम्मानितहुनेलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङकी सल्लाहकार गोमा नेपाल र सृष्टि सहकारीका अध्यक्ष भट्टराईले नगद तथा प्रशंसापत्र सहित सहित पुरस्कृत गरे । २०५३ सालमा स्थापना भएको सहकारीमा हाल ९ सय ९३ महिला सदस्य र ९ सय ५५ जना पुरुषगरि १ हजार ९ सय ४८ जना शेयर सदस्य रहेको संस्थाका लेखापाल प्रकाश सापकोटाले बताए ।
उनले गएको वर्षका लागि सेयर सदस्यहरुलाइ १२ प्रतिशत मुनाफा वितरण गरिएको बताए । कार्यक्रममा लेखा समितिका संयोजक निवास पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । सो अवसरमा बोल्ने सहकारी अभियन्ताहरुले सहकारीले राष्ट्रिय अर्थतन्त्रमा सशक्त भुमिका निर्वाह गर्दै आएको बताएका थिए ।