विराटनगर । विराटनगर महानगरपालिका–१९ मा अवस्थित पञ्चकन्या आधारभूत विद्यालयलाई शिक्षासेवी मनोज विक्रम शाह र यति ब्रुअरीले शैक्षिक सामग्री सहयोग गरेका छन्।
विद्यालयमा आयोजित एक विशेष कार्यक्रममा शाहले विद्यालयका १०० जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरे भने यति ब्रुअरीको तर्फबाट ह्वाइट बोर्ड ८ थान, सूचनापाटी ८ थान र दिवाल घडी ९ थान विद्यालयलाई हस्तान्तरण गरियो ।
कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की, वडा नम्बर १९ का अध्यक्ष श्याम घिमिरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज कट्टेल, शिक्षक–शिक्षिका, अभिभावक र समाजसेवीहरूको उपस्थिति रहेको थियो ।
सहयोगप्रति धन्यवाद व्यक्त गर्दै अध्यक्ष कट्टेलले विद्यालयको शैक्षिक गुणस्तर उकास्न सहयोग प्राप्त सामग्रीले ठूलो योगदान पुर्याउने बताए । उनले विद्यालयलाई उच्चस्तरीय शिक्षाको नमुना बनाउने लक्ष्यका लागि यस किसिमका सहयोग निरन्तर आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा शिक्षासेवी मनोज विक्रम शाहले विद्यालयको प्रगतिप्रति प्रसन्नता व्यक्त गर्दै भने, “विद्यालयमा दुई वर्षअघि र अहिले ठूलो परिवर्तन आएको छ । व्यवस्थापन समितिको सक्रियता, शिक्षक–शिक्षिकाको समर्पण, अभिभावकको साथ र महानगरपालिकाको सहकार्यले विद्यालय उत्कृष्टताको मार्गमा अघि बढिरहेको छ।”
उनले विद्यालय स्थापनाकालमा भवन चुहिने, झ्यालढोका नभएका र टिनको छानाले गर्मीमा पढ्न कठिन हुने अवस्था रहेको स्मरण गर्दै अब पक्की भवन निर्माण अत्यावश्यक भएको बताए ।
अध्यक्ष कट्टेलका अनुसार विद्यालयमा अहिले अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ सञ्चालन हुँदै आएको छ । अध्यक्ष कट्टेलले समाजसेवी मनोज विक्रम शाह र यति ब्रुअरीप्रति सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहकार्यले विद्यालयको स्तर अझ उकासिने विश्वास व्यक्त गरे ।
