Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रवि लामिछानेको पार्टीको नामविरुद्ध निर्वाचन आयोगमा उजुरी


  • Purbeli Press
  • बुधबार, असार ८ २०७९

सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको छ।

लामिछानेले मंगलबार निर्वाचन आयोग ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताको लागि दिएको निवेदन खारेजीको माग गर्दै बुधबार स्वतन्त्र उम्मेदवारी अभियानले आयोगमा उजुरी दिएको हो।

‘स्वतन्त्र’ उम्मेदवारलाई नै भ्रम पर्ने गरी नाम राखिएको भन्दै अभियानले पार्टीको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गरेकाे छ।

अभियानका संयोजक डम्बर शाहुले बुधबार आयोगमा दिएको उजुरीमा रविले आफ्नो पार्टीको नाममा स्वतन्त्र शब्द राखेसँगै स्थानीय तहमा देशैभरि स्वतन्त्र उम्मेदवार दिएका र आसन्न प्रदेश तथा संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका वा स्वतन्त्र उम्मेदवारीको तयारी गरेका वास्तविक स्वतन्त्र व्यक्ति समूह/संस्थालाई गम्भीर आघात पुगेको उल्लेख छ।

‘परम्परागत राजनैतिक पार्टी र म्याद गुज्रिएका नेतृत्वको विकल्पका रुपमा नयाँ र भिजनसहितका युवाहरू राजनीतिमा आउनु स्वागतयोग्य रहे पनि पनि धमिलो पानीमा माछा मार्ने कटु अवसरवादीहरूले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को नाममा निर्वाचन आयोगमा पार्टी दर्ताको लागि दिएको निवेदनमा ‘स्वतन्त्र’ शब्द हटाई अन्य अन्य शब्दको प्रयोग गर्न अनुरोध गर्दछु’, उजुरीमा उल्लेख छ।

लामिछानेको पार्टीलाई स्वतन्त्र उम्मेदवार अभियान, अभियान्ता र देशैभरिमा स्थानीय, प्रदेश र संघीय तहमा स्वतन्त्र उम्मेदवार दिने कुनै पनि स्वतन्त्र उम्मेदवारहरूको समर्थन–सहकार्य नरहेकोसमेत उजुरीमा उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित समाचार