काठमाडौं । आइसिसी महिला टी २० विश्वकप एसिया छनोटमा नेपाल सेमिफाइनलबाट बाहिरिएको छ छ।
मलेसियामा शुक्रबार भएको सेमिफाइनलमा नेपाल थाइल्यान्डसंग ४६ रनले पराजित भएपछि छनौटबाट बाहिरिएको हो।
यससँगै नेपालको विश्व छनोट खेल्ने लक्ष्य टुंगिएको छ। नेपाललाई पराजित गरेसँगै थाइल्यान्ड भने विश्व छनोटमा पुगेको छ। प्रतियोगिताबाट दुई टिम विश्व छनोट पुग्ने प्रावधान छ।
थाइल्यान्डले दिएको १०६ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा ५९ रनमा अलआउट भयो।
नेपालका लागि कविता कुँवरले सबैभन्दा बढी नटआउट १७ रन जोड्दा कविता जोशी र अप्सरी बेगमले १०,१० रन बनाए। नेपालका अरु ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बलिङमा थाइल्यान्डकी ओनिचा र थिपच्चाले ३, ३ विकेट लिए।
त्यसअघि टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा २ विकेटको क्षतिमा १०५ रन जोडेको थियो ।