काठमाडौं । आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई ९ विकेटले परािजत गरेको छ । यो जितसगैं नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो । मलेसियाको बांगीमा भइरहेको खेलमा यसअघि नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरेको थियो ।
समूह ए मा रहेको नेपालले एक खेलअगावै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।
कतारसंगको जितको लागि ७५ रनको सामान्य विजयी लक्ष्य पछाएको नेपालले १० दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान दिइन । उनले २८ बलमा ४ चौकासहित ३२ रन जोडेकी हुन् । त्यस्तै इन्दु बर्मा १२ बलमा ३ चौकासहित २० रनमा अविजित रहिन् । सीता रानामगर २३ बलमा १७ रनमा अविजित रहिन ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रनको योगफल बनाएको थियो ।
नेपालले समूह चरणको अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ ।