एजेन्सी : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन्। न्युयोर्कको एक अदालतले ट्रम्पलाई दोषी ठहर गर्दै पीडित महिला ई. जिन क्यारोललाई ५० लाख अमेरिकी डलर दिनुपर्ने फैसला सुनाएको हो।
जिन क्यारोल एक स्थापित पत्रकार हुन्। उनी इले पत्रिकाकी जानेमाने स्तम्भकार हुन्। उनले सन् २०१९ मा आफ्नो पुस्तक’ह्वाट डु वी निड मेन फर’सार्वजनिक गर्नुपूर्व न्युयोर्क म्यागजिनमार्फत् पुस्तकको अंश बाहिर ल्याएकी थिइन्। यसरी पहिलोपटक सार्वजनिक भएको यो घटनाका बारेमा ट्रम्पले जिन’मलाई पन पर्ने खालकी हैनन्’ भन्दै आरोप अस्वीकार गरेका थिए।
ट्रम्पले आफूलाई बलात्कार गरेको अस्विकार गरेर झुट बोलेको र आफ्नो मानहानी गरेको भन्दै उनले ट्रम्पविरूद्ध मानहानीको मुद्दा दायर गरेकी थिइन्। अदालतले क्यारोललाई ३० लाख अमेरिकी डलर मानहानी गरेबापत र बाँकी २० लाख अमेरिकी डलर यौन दुर्व्यवहार गरेबापत गरी कूल ५० लाख अमेरिकी डलर तिर्नुपर्ने भएको हो।
दुई सातासम्म म्यानहटन फेडरल कोर्टमा जारी यस सुनुवाइमा आरोपित ट्रम्प भने उपस्थित भएका थिएनन्। उनले सुरुदेखि नै उक्त आरोप मिथ्या भएको दाबी गर्दै आएका छन्। अबको राष्ट्रपतीय निर्वाचनमा लड्नका लागि ट्रम्पलाई यो फैसलाले ठूलो धक्का पुगेको आकलन गरिएको छ।