तेहरान । इजरायलले इरानको परमाणु कार्यक्रम समाप्त गर्ने उद्देश्यसहित ‘अपरेशन राइजिङ लायन’ सञ्चालन गरेको दाबी गरेको छ। यस सैन्य कारबाहीमा इरानका उच्च सैनिक अधिकारी र परमाणु वैज्ञानिकहरू मारिएको इस्रायली सञ्चार माध्यमले जनाएका छन्।
इरानको सरकारी सञ्चार माध्यमले पनि केही शीर्ष अधिकारीको मृत्यु पुष्टि गरेको छ। मृतकमध्ये इस्लामिक रिभोल्युशनरी गार्ड्स कोरका कमाण्डर इनचिफ हुसैन सलामी, खतम अल अनहिया सेन्ट्रल हेडक्वार्टरका कमाण्डर घोलामली राशिद, परमाणु वैज्ञानिक तथा इरानी एटमिक एनर्जी अर्गनाइजेशनका पूर्व प्रमुख फेरेदून अब्बासी, र परमाणु कार्यक्रममा संलग्न वैज्ञानिक मोहम्मद मेहदी तेहरांची छन्।
त्यसैगरी, इरानी सशस्त्र बलका चीफ अफ स्टाफ मोहम्मद बघेरीको पनि मृत्यु भएको जनाइएको छ। इरानबाट प्राप्त रिपोर्टअनुसार, देशका सर्वोच्च नेता अयातुल्लाह अली खामेनेईका वरिष्ठ सल्लाहकार अली शमखानी गम्भीर घाइते भएका छन्।
यो आक्रमणले इरान–इजरायल सम्बन्धमा थप तनाव ल्याउने निश्चित देखिएको छ। क्षेत्रीय स्थायित्वमा पनि गम्भीर असर पर्ने चिन्ता अन्तर्राष्ट्रिय समुदायले व्यक्त गरिरहेको छ।