Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आर्मीलाई सडेनडेथमा हराउँदै जावलाखेल विराट गोल्डकपको सेमिफाइनलमा



विराटनगर : डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी फुटबल क्लबलाई सडेनडेथमा पराजित गर्दै जवलाखेल युथ क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको दोस्रो क्वाटरफाइनल खेलमा आर्मीलाई सडेनडेथमा ६–५ गोल अन्तरले हराउँदै जाउलाखेल सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछिको अतिरिक्त ३० मिनेटमा पनि दुबै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो ।

पेनाल्टीमा पनि दुवै टोलीले ५–५ गोल गरेपछि खेल सडेनडेथमा पुगेको थियो ।

आर्मीका सेसेहाङ आङदेम्बेको प्रहार पोस्ट बाहिर गएपछि जावलाखेलले आर्मीलाई ६–५ गोल अन्तरले पराजित गर्दैसेमिफाइनलको यात्रा तय गरेको हो ।

जावलाखेलका लागि विशाल तामाङले निर्णायक गोल गरे ।

त्यसअघि पेनाल्टीमा जाउलाखेलका सीमान्त थापा, विदेशी खेलाडी फोडे फोफोना, जाहुल, छिरिङ, समिराज थोकर र बिसाल तामाङ्गले गोल गरेका थिए भने आर्मीका टंक बस्नेत, टेक बहादुर बुढाथोकी, कप्तान जिलेस्पी जंग कार्की, सन्तोष केसी र गोलकिपर बिकेस कुथुले गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच जाउलाखेलका सीमान्त थापा घोषित भए ।

जाउलाखेलले अब फाइनल प्रवेशका लागि घरेलु टिम विराटनगर सिटीसँग चैत १३ गते पहिलो सेमिफाइनल खेल खेल्ने छ ।

शनिबारको तेस्रो क्वाटरफाइनल खेल साविक विजेता सशस्त्र प्रहरी बल र पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबबीच हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार