Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बङ्गलादेशलाई पराजित गर्दै एन्फा मोरङ बुढासुब्बा गोल्डकपकाे सेमिफाइनलमा



विराटनगर । एन्फा मोरङ बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।
एन्फा खेल मैदान धरानमा जारी प्रतियाेगिताकाे अन्तिम क्वाटर फाइनल खेलमा मङ्गलवार बङ्गलादेशको केबिपीएस क्लबलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै मोरङले अन्तिम चारकाे यात्रा तय गरेको हो ।
एन्फा मोरङका तर्फबाट सञ्जय धिमाल, सान याक्खा, मनिस धिमालले गोल गरे भने धीरे बिष्टको पेनाल्टी केबिपीएस बङ्गलादेशका गोल कपर कोबिजले रोक्न सफल भए ।
बङ्गलादेशको तर्फबाट भने खोका बाबु बाहेक अन्य खेलाडीले गोल गर्न सकेनन् । खेलमा एन्फा मोरङका गोल किपर रमिजाय गच्छदार उत्कृष्ट खेलाडी घोषित भए ।
धरान रङ्गशालामा भएको खेलमा निर्धारित ९० मिनेटमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो ।
एन्फा मोरङले अगामी बिहीबार दोस्रो सेमिफाइनल खेलमा एभिनियर फुटबल क्लब क्यामरुनसँग प्रतिस्पर्धा गर्नेछ ।
एभिनियर बागमती युवा क्लब सर्लाहीलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरिसकेको छ । त्यसअघि भोलि बुधवार काँकडभिट्टा फुटबल टेनिङ सेन्टर झापा र युकेएफसी भारतबिच प्रतिस्पर्धा हुनेछ ।
विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने छन । गोल्डकपको फाइनल खेल आगामी शनिवार हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार