काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ को विजय यात्रामा रहेको नेपालले पाचौं जितमा पपुवा न्यूगिनीलाई पराजित गरेको छ ।
यूएईमा आजदेखि सुरु त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनि(पीएनजी)लाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पीएनजीले दिएको २०४ रनको लक्ष्य नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले सर्वाधिक ५६ रन बनाए । उनले ६९ बल खेल्दै ५ चौका सहित चौथो एकदिवसीय अर्धशतक प्रहार गरेका थिए । कुशलले पहिलो विकेटका लागि आसिफ शेख सँग ७६ रनको साझेदारी गरे ।
आसिफ ३९ बलमा ५ चौकासहित ४४ रन बनाएर आउट भए । ज्ञानेन्द्र मल्ल ४ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले २० रन बनाए । दीपेन्द्रसिंह ऐरी पाँचौं विकेटका लागि आरिफ शेख सँग ५४ रनको साझेदारि गर्दै १७ रन बनाएर आउट भए । आरिफ ६६ बल खेल्दै समान एक चौका र छक्कासहित ३८ रन बनाएर पभेलियन फर्किए ।
कुशल मल्ल १२ र सोमपाल कामी ५ रनमा अविजित रहे । पीएनजीको बलिङमा कतान आसाद भालाले १० ओभरमा ३७ रन खर्चिएर तीन विकेट लिए । नोरमान भानुवा र सेसे बाउले समान एक विकेट लिए ।
पहिला ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०३ रनको योगफल बनाएको थियो । शृंखलाको दोस्रो खेलमा नेपालले बिहिबार आयोजक यूएईको सामना गर्नेछ ।