विराटनगर : नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय टोलीमा समावेश भएका छैनन् । बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि सन्दीपबिनाको टिम घोषणा गरेको छ ।
क्यानले सन्दीपलाई टिम बाहिर राखेर १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको हो ।
त्यसो त यसअघि पनि राष्ट्रिय टोलीको कप्तान रहँदारहँदै सन्दीप करिब ६ महिना टिम बाहिर थिए । त्यसको कारण हो, एक नाबालिकलाई बलात्कारको आरोप । बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई गत भदौ २३ गते राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो ।
नाबालिक बालिकालाई बलात्कार गरेको आरोप लागेपछि उनलाई प्रहरीले करिब ६ महिना हिरासतमा राखेको थियो । उनीविरुद्ध लागेको बलात्कार मुद्दा अझै पनि जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।
तर, उच्च अदालत पाटनले गत पुस १८ गते २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशअनुसार थुनामुक्त भए पनि उनलाई विभिन्न शर्तमा छाडिएको थियो । उक्त शर्त अनुसार उनी विदेश जान पाउने छैनन् ।
६ महिना टिम बाहिर रहेका सन्दीपलाई क्यानले निलम्बन फुकुवा गर्दै पुनः राष्ट्रिय टोलीमा समावेश गराएको थियो । तर, बलात्कार आरोप लागेका अभियुक्तलाई मुद्धा किनारा नलाग्दै राष्ट्रिय टोलीमा समावेश गराएको भन्दै क्यानको सबत्र आलोचना भयो । आलोचनाका बाबजुद क्यानले सन्दीपलाई गत मंगलबार मात्र सम्पन्न भएको सकिएको विश्वकप लिग टू को खेलमा पुनरागमन गरायो ।
उक्त सिरिजको ४ खेल खेलेका सन्दीपले १३ विकेट लिएका थिए ।
यूएई भ्रमणमा रहेको नेपालले घरेलु टोली यूएई र पपुवा न्युगिनिसँग खेल्नेछ । नेपालले पहिलो खेल फागुन १५ मा पपुवा न्युगिनीसँग खेल्नेछ ।
क्यानले रोहित पौडेलको कप्तानीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी.सी र श्याम (मौसम) ढकाललाई टिममा समावेश गरेको छ ।
प्रतिश जी.सी र श्याम ढकाल पहिलोपटक राष्ट्रिय टिममा परेका हुन् ।