Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आऊ एउटा सल्लाह गर !



गणेश उप्रेती ‘शुशिल’

फेरि नहार्ने बाटो खोज
युगैपिच्छे लड्नुपर्ने
पुस्तैपिच्छे गल्नुपर्ने
नियति हाम्रो उस्तै हो कि,
ठेकदार सधैं बेइमान हो?
यात्राहरू नटुंगिँदै,
गन्तव्य सधैं मोड्नुपर्ने!

खुसीहरू साट्न नपाई
मृत्यु शोक गाउनु पर्ने,
भाग्य हाम्रो उस्तो हो कि
विधाता सधैं गलत पर्ने?
आऊ एउटा प्रश्न सोध,
उत्तरहरूको मझेरीमा,
तिम्रो मेरो स्थान रोज!

जुन-तारा कति राम्रो!
लक्ष्य हामीले बनाएको
ठूला-ठूला सपनासँगै,
तीर हामीले चलाएको!

सयपत्री मखमली,
फूल हामीले सजाएको
त्यो फूलको बास्नासँगै,
जीवन सँगै रमाएको!
फूलहरू ओइली जान्छन्!
काँडा मात्र बाँकी हुन्छन्!
तिम्रो-मेरो पालो आउँदा,
पत्झर सधैं रमाइदिन्छ!
आऊ एउटा रहस्य सोध,
बास्ना जति अन्तै जाने
निराश किन हामीलाई पर्छ?

पसिना रगत कति प्यारो
बगेपछि थाहा पाउने
त्यही रगतको डिलमा उभिई
समय सधैं कोल्टे फेर्ने
तिम्रो-मेरो पसिना हेर
पानी-पानी भई बग्ने
आई एउटा प्रश्न सोध
उत्तरहरूको मझेरीमा
तिम्रो मेरो स्थान रोज।

सन्दर्भहरू आउँछन् जान्छन्
घटनाहरू सेलाई जान्छन्
रात पर्न लागेपछि,
अज्ञातहरू उर्ली आउँछन्
अज्ञातहरूकै भेल बाढीमा,
तिम्रो-मेरो इच्छा मर्छन्
इच्छाहारुकै जन्त लगी
धोकाहरू स्वयम्बर चढ्छन्
नयाँ युगको रसरंगमा
तिम्रो-मेरो बलि चढ्छ।
भो अब रुन छाड
बरू एउटा प्रश्न गर
सधैं हामी हार्नुपर्ने?
आऊ एउटा उत्तर खोज।।

(उप्रेती प्रदेश १ का प्रदेशसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका प्रदेश सचिव हुन् ।)

प्रतिक्रिया
सम्बन्धित समाचार