काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कमाउने घरेलु फिल्मको इतिहासमा सर्वाधिक कमाई फिल्म बन्न सफल भएको छ । प्रदर्शनको १३ औं दिन हुँदा मंगलबारसम्म फिल्मले देशव्यापी २५ करोड ४ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै इतिहास बनाएको हो ।
वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले मंगलबार मात्रै २ करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको जनाएको छ । आजपनि २ करोडभन्दा धेरै कमाउने प्रक्षेपण गरिएको छ ।
‘कबड्डी ४’ को कमाइलाई उछिन्दै विजय बराल स्टारर फिल्मले धेरै कमाउने घरेलु फिल्मको रुपमा इतिहास रचेको हो । निर्माताले दिएको आधारमा कबड्डी ४ को कलेक्सन (२३ करोड ५० लाख) र चलचित्र विकास बोर्डले दिएको तथ्यांकको आधारमा भने २१ करोड ३८ लाख रुपैयाँ कलेक्सन गरेको थियो ।
यो फिल्म सर्वाधिक शो पाउने फिल्मको रेकर्ड समेत राख्यो । अहिले पनि मुलुकका ४५० भन्दा धेरै शो यो फिल्मको कब्जामा छ । साथै, ‘पूर्णबहादुरको सारङ्गी’ एकैदिनमा सर्वाधिक कमाउने नेपाली फिल्म समेत बन्यो । फिल्मले कात्तिक २४ गते एकैदिन ३ करोड ८९ लाख रुपैयाँ ग्रस कमाएको थियो ।