विराटनगर : अघिल्लो निर्वाचनको व्यहोरेको हारको बदला लिँदै मोरङ क्षेत्र नं ६ मा नेपाली कांग्रेसका डा. शेखर कोइराला वियजी भएका छन् । २०७४ को निर्वाचनमा उनी नेकपा एमालेका लालबाबु पण्डितसँग झिनो मतान्तरले पराजित भएका थिए ।
यसपटक उनै पण्डितलाई हराउँदै कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनी ३५ हजार २१३ मत ल्याई विजयी भएका छन् । उनले पण्डितलाई १२ हजार २८४ मतको अन्तरले पराजित गरेका हुन् । पण्डितले २२९२९ मत ल्याएका छन् । २०७४ को निर्वाचनमा लालबाबु पण्डित ३३ हजार ९४१ मत ल्याएर निर्वाचित हुँदा शेखर कोइरालाले ३३ हजार २६६मत ल्याएका थिए ।
को हुन् कोइराला ?
कोइरालाले २०२७ सालमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघको स्थापनाकालमा महेन्द्र मोरङ क्याम्पसबाट राजनीतिमा प्रवेश गरेका थिए । उनले २०२८ सालमा पार्टीको सदस्यता प्राप्त गरी सक्रीय राजनीतिमा होमिए । नेपाली कांग्रेसको ११ औं, १२ औं र १३ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भए । १४ औं महाधिवेशनमा उनी सभापतिका उम्मेदवार थिए । सभापतिमा शेरबहादुर देउवासँग पराजित भएपछि हाल उनी संस्थापनइत्तर समूहका नेता छन् ।
शेखर २०६४ को संविधानसभा निर्वाचनमा मोरङ ७ मा पराजित भएका थिए । २०६५ मा भएको उपनिर्वाचनमा भने उनी सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि शेखर मोरङ ७ बाटै निर्वाचित भएका थिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा मोरङ ६ बाट एमालेका लालबाबु पण्डितसँग पराजित भए ।
२००७ साल भदौ ९ गते मोरङको विराटनगरमा जन्मिएका कोइराला वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २०४८ मा उपकुलपती नियुक्त भएका थिए । त्यहाँ उनले दुई कार्याकाल उपकुलपतीको जिम्मेवार पुरा गरे । बाबु केशव प्रसाद कोइराला र आमा नोना कोइरालाको कोखबाट जन्मिएका शेखरले अल इण्डिया मेडिल साइन्स इन्ष्टिच्युट, भारतबाट एम.डी. अध्ययन पुरा गरेका छन् ।