Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

स्थिर समयअगावै सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचार सामग्री हटाउन आयोगको निर्देशन



विराटनगर ।  निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचारप्रसारसम्बन्धी सामग्री मंसिर १ गते राति १२ बजेसम्म हटाउन निर्देशन दिएको छ।आयोगले सामाजिक सञ्जालमा पोस्ट भएका निर्वाचन प्रचारप्रसारसम्बन्धी सामग्री मंसिर १ गते राति १२ बजेसम्म हटाइसक्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको हो।

निर्वाचन आयोग, नेपालका सहप्रवक्ता कमल भट्टराईले निर्वाचन आचारसंहिताबमोजिम स्थिर समय सुरु हुनुभन्दा ४८ घण्टा अघिबाट राजनीतिक दल र उम्मेदवारले कुनै पनि तरिकाबाट निर्वाचन प्रचारप्रसार गर्न नपाउने बताए।

उनले आयोगले मंसिर १ गते राति १२ बजेबाट कुनै पनि राजनीतिक दल तथा उम्मेदवारले सामाजिक सञ्जाल तथा अनलाइन प्रयोग गरेर उम्मेदवारको पक्ष र विपक्षमा मत माग्न नपाउने पनि बताए।सहप्रवक्ता भट्टराईले स्थिर समय सुरु हुनुपूर्व पोस्ट गरिएका निर्वाचन प्रचारप्रसार सामग्री सम्बन्धित सामाजिक सञ्जाल तथा अनलाइनबाट हटाउनुपर्ने बताए।

उनले उम्मेदवार तथा राजनीतिक दलले आयोगको निर्देशन अटेर गरी सामाजिक सञ्जालबाट प्रचारप्रसार गरे वा प्रचारप्रसार सामग्री नहटाए निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन आचारसंहिता २०७९ एवं निर्वाचन कसुर तथा सजाय ऐनबमोजिम आवश्यक कारबाही हुने पनि बताए।

उनले भने, ‘निर्वाचन आचारसंहिता २०७९ बमोजिम मतदानको दिनभन्दा ४८ घण्टा अघिदेखि उम्मेदवार तथा राजनीतिक दलले कुनै पनि तरिकाबाट निर्वाचन प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ। त्यसलाई हामीले त्यो बेला आचारणको रुपमा व्याख्या गरेका छौँ। कुनै पनि माध्यमबाट मत माग्न नपाइने भनेको सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट समेत प्रचारप्रसार गरेर मत माग्न नपाइने व्यवस्था स्पष्ट हो।

यस सन्दर्भमा आयोगले १ गते राति १२ बजेबाट कुनै पनि राजनीतिक दल तथा उम्मेदवारले सामाजिक सञ्जाल तथा अनलाइनको प्रयोग गरेर उम्मेदवारको पक्ष र विपक्षमा मत माग्न नपाइने गरी निर्देशन जारी गरेको छ। त्यसपूर्व नै सामाजिक सञ्जालमा कुनै त्यस्तो विज्ञापन छ भने त्यो अवधि सुरु हुनुभन्दा अगावै त्यस्ता किसिमका सामग्री सम्बन्धित सामाजिक सञ्जाल तथा अनलाइनबाट हटाउनसमेत आयोगले निर्देशन जारी गरेको छ।

अटेर गरी विज्ञापन नहटाउने उम्मेदवार र राजनीतिक दललाई निर्वाचन आचारसंहिता २०७९ को उल्लंघन भएको ठहर गरी आयोगले निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन आचारसंहिता २०७९ एवं निर्वाचन कसुर तथा सजाय ऐन बमोजिम आवश्यक कारबाही गर्नेछ।’

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचनसम्बन्धी प्रचारप्रसारका सामग्री हटाएरनहटाएको अनुगमन गर्न निर्देशन दिने बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार