Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरकाे ब्रह्मपुराबासी भन्छन् : ‘मन्त्री कार्कीले हाम्रो पीडा सुनेनन्’



विराटनगर : विराटनगर महानगरपालिका–६ ब्रह्मपुरा मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा पर्छ । प्रदेशसभातर्फ भने ६ ‘ख’मा पर्छ ।

मोरङ–६ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र एमालेबाट पार्टी स्थायी कमिटी सदस्य लालबाबु पण्डित प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । यही क्षेत्रबाट प्रतिस्पर्धा गरेका कोइराला २०७४ सालको निर्वाचनमा पण्डितसँग पराजित भएका थिए । आगामी निर्वाचनका लागि पनि एउटै मैदानमा पुरानै प्रतिस्पर्धी आम्नेसाम्ने भएका छन् ।

प्रदेशसभातर्फ कांग्रेसका केदार कार्की र एमालेका पर्शुराम बस्नेत उम्मेदवार छन् । उनीहरु बीच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी माहोल गर्माएको छ । उम्मेदवारहरु घरघरमा पुगेर मतदातासमक्ष मत मागिरहेका छन् । आफूलाई जिताउन आग्रह गर्दै अनेक आश्वासन दिएर मतदाता फकाउन व्यस्त छन् ।

२०७४ सालमा कार्की यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा विजयी बनेका थिए । उनी हाल प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री छन् । मन्त्री भएपछि अनेक विवादमा मुछिए । उनका प्राय कामकारबाही र निर्णयहरु विवादित छन् । जनभावनाविपरीतका काम गरेको र विभिन्न अनियमिततामा मुछिएको आरोप मतदाताले लगाइरहेका छन् ।

त्यही भएकाले निर्वाचनको माहोलमा मोरङ क्षेत्र नम्बर ६ ‘ख’को चर्चा अलि धेरै हुने गरेको छ । विगतमा निर्वाचन जितेर गएपछि फर्किएर नआएको, मतदाताको गुनासो नसुनेको, सीमित झुण्ड तथा स्वार्थ समूहलाई च्यापेर हिँड्ने गरेको र योजनाहरुमा घोटाला गरेको आरोपका बीच कार्की मत माग्दै मतदातासमक्ष पुगिरहेका छन् ।

आफूमाथि लागेका आरोप चिर्ने प्रयास गर्दै आफूलाई भोट दिन आग्रह गरिरहेका छन् । तर खुलेआम रूपमा गरेको बदमासी ढाकछोप गरिरहेको भन्दै मतदाताले कार्कीका कुरा पत्याएका छैनन् । उनलाई पुनः चुनाव जिताउनु भनेको फेरि ५ वर्ष पछुताएर बस्नु हो भनिरहेका छन् ।

त्यहाँमाथि कार्कीका प्रतिस्पर्धी एमालेका युवा नेता बस्नेत छन् । चुनावी मैदान उनका लागि नयाँ भए पनि विभिन्न संघ संगठनमा बसेर सफल नेतृत्व गरेका कारण उनीप्रतिको क्रेज बढ्दो छ । विशेष गरेर युवाहरुको साथ उनले पाएका छन् । बिहीबार बिहान ब्रह्मपुरामा बस्नेतको उपस्थितिमा एमालेले गरेको घरदैलो र मतदाता भेटघाट कार्यक्रमले पनि त्यसको पुष्टि गर्छ ।

सीमित व्यक्तिहरु मिलेर सुरु गरेको घरदैलो केही बेरमै ठूलो समूहमा परिणत भएको थियो । घरघरबाट घरदैलोमा सहभागी हुनेहरुको ताँती लाग्यो । जसले बस्नेतलाई उत्साहित बनायो । युवायुवतीदेखि वृद्धवृद्धासमेत भोट माग्दै बस्नेतसँगै घरदैलो र मतदाता भेटघाटमा सामेल भए ।
ब्रह्मपुरा कांग्रेसको किल्ला भनेर चिनिन्छ । गत स्थानीय तह निर्वाचनले पनि त्यही पुष्टि गर्छ । किनभने कांग्रेसका अक्षयलाल भनिने हरिश्चन्द्र सहनीले वडाध्यक्ष जितेका छन् । कार्कीनिकटका सहनीले उनकै जोडबलमा टिकट पाएर चुनाव जितेको स्थानीय बताउँछन् । तर वडाध्यक्ष जितेपछि कार्कीसँगै सहनी पनि अनेक विवादमा मुछिँदै गइरहेका छन् ।

बिहीबार विहानको दृष्य भने फरक थियो । एमाले उम्मेदवार बस्नेतको पक्षमा महोल बनेको अनुमान लगाउन सकिन्थ्यो । हात जोडेर नमस्कार गर्दै उनले भोट मागिरहँदा चुनाव जितेर गएपछि ‘कार्कीले जस्तो जनतालाई बेवास्ता नगर्नु है’ भनेर वृद्धवृद्धाले आर्शीवाद दिन्थे । बस्नेतको विजयका लागि साथ दिने प्रतिवद्धता जनाउँथे ।

‘केदार कार्कीलाई चुनाव जिताएपछि हामीले ५ वर्ष पछुताएर बस्नु परेको छ । अब पनि उनैलाई जिताउनु भनेको आफ्नै खुट्टामा ‘बन्चरो’ हान्नु हो,’ ५० वर्षीया कलादेवी चौधरीले भनिन्, ‘अब मतदाता सचेत भइसके । बिर्सिएर पनि त्यस्तो गल्ती गर्न हुँदैन भनेर हामी टोलमा छलफल चलाइरहेका छौँ ।’ कलादेवी कांग्रेसकी पुरानै कार्यकर्ता हुन् ।

६१ वर्षीय वसन्त कामतले लामो समयदेखि कांग्रेसलाई सहयोग गरेर गल्ती गरेको सुनाए । ‘पार्टी नराम्रो हैन । तर कार्कीजस्तै पार्टीभित्रका पात्रहरु खराब भए,’ उनले भने, ‘यस्तै पात्रका कारण आज पार्टीले नोक्सानी बेहोर्नुपर्ने अवस्था छ । पार्टीलाई भजाएर आफ्नो दुनो सोझ्याउने कामभन्दा केही पनि गरेनन् ।’

४९ वर्षीय राजेश सहनी कार्कीप्रति निक्कै आक्रोसित छन् । ‘चुनाव जितेपछि केही गरेनन् । अरुले गरेको कामलाई मैले गरेको हो भनेर झुटा प्रचार गरिरहेका छन्,’ राजेश भन्छन्, ‘ढाँटछल गरेर जनतासँग मत माग्दैछन् । तर हाम्रो ठाउँमा समस्याका चाङ जस्ताको तस्तै छ ।’ जनता पीडामा परिरहँदा कार्कीले आफ्नो र वडाध्यक्ष सहनीको नाममा समेत जग्गा किनेर धेरै सम्पत्ति जोडेको राजेशको दाबी छ ।

मञ्जुदेवी महतोको परिवार १७ वर्षदेखि ऐलानी जग्गामा बसोबास गरिरहेको छ । गत निर्वाचनमा सुकुम्बासीलाई जग्गा दिने र घर बनाइदिने भनेपछि कार्कीलाई मत दिएको उनले बताइन् ।

चुनाव जितेर गएपछि एकपटक पनि फर्किएर नआउँदा कार्कीसँग धेरै चित्त दुखेको मञ्जुदेवीको गुनासो छ ।

५० वर्षीय बलराम कामत चुनाव जितेर गएपछि केदार कार्कीले गरेका बदमासीको फेहरिस्त आफूसँग रहेको सुनाउँछन् । बलरामले ५ बर्से कार्यकालमा जनविरोधी काम गरेका कार्कीलाई पुनः भोट माग्दै जनताको बीचमा आउने अधिकार नभएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार