पोखरा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा स्थायित्व, शान्ति र विकासका लागि आसन्न चुनावमा एमालेको जीत आवश्यक रहेको बताएका छन् । उनले गठबन्धनको झुठा प्रपञ्च भत्काउँदै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन एमालेले बहुमत ल्याउने पनि दाबी गरे ।
एमाले जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीको आयोजनामा सोमबार पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।
‘गठबन्धनको नाममा विभिन्न पाँचतर्फ फर्केका पाँच ओटा घोषणापत्र छन्, कसको लागु गर्ने हो भन्नेमै झगडा हुन्छ’ उनले भने, ‘धान चामल, कनिका सबै एकै ठाउँ मिसाएर कस्तो भात बन्छ, दिशाहीन गन्तव्य नै गठबन्धन हो ।’ गठबन्धनले मंसिर ४ को चुनाव नजित्दै दाबी गर्दै अध्यक्ष ओलीले गठबन्धनले कथंकदाचित जिते पनि कसको घोषणापत्र लागु गर्ने भन्नेमै झगडा हुने बताए । ‘एउटाले कार्यकारी प्रधानमन्त्री भन्छ, कसैले कार्यकारी राष्ट्रपति भन्छ, कसैले यही ठिक छ भन्छ,’ ओलीले अगाडि भने, ‘यसैमा उनीहरुको झगडा छ ।’
संसद विघटन प्रतिगमन नभएको दाबी गर्दै उनले यसको गलत विश्लेषण भएको टिप्पणी गरे । शक्ति पृथकीकरणको सिद्धान्तअनुरुप संसदको अधिकारलाई खुम्च्याएर अदालतले परमादेश गरी आफ्नो सरकार अपदस्थ गरेको भन्दै अदालतको समेत कटु आलोचना गरे । अहिलेको सरकार परमादेशबाट आएको सरकार हो भन्दै उनले यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल पनि हुन सक्ने आशंका व्यक्त गरे । अहिलेको सरकार दक्षिणपन्थी र भ्रष्ट सरकार भएको आरोप समेत लगाए ।
लिम्पियाधुराको मा पश्चिममा गएर बोलेको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको टिप्पणीप्रति उनले लक्षित गर्दै भने, ‘बन्दूकले हैन, वार्ता र छलफल नै सीमा विवाद सुल्झाउने हो ।’ उनले २००८ सालमा मातृकाप्रसाद कोइरालाले १७ ओटा सैन्य चेकपोस्ट स्थापना गरे तर २०२६ सालमा कीर्तिनिधि बिष्टले फिर्ता गरेको इतिहास स्मरण गराए । त्यसैले शेरबहादुरले भनेजस्तो बन्दूक नभै वार्ता र छलफलबाटै नेपालको भूभाग भारतको नियन्त्रणबाट फिर्ता ल्याउने उनको अडान थियो । देउवाप्रति बन्दूक गर्दै उनले भने, ‘बन्दूकले त मान्छेमात्र मार्ने हो । हुन त उहाँको प्रचण्डको संगत छ । भाषा पनि त्यस्तै आयो ।’
अहिले सरकारले कालो अर्थतन्त्रलाई बढावा दिएको तर सेतो अर्थतन्त्र ध्वस्त पारेको ओलीको टिप्पणी छ । उनले थपे, ‘महँगा मोबाइल आयात बन्द छ । तर बजारभरि छ्याप्तछ्याप्ती छ । मोबाइलबाट पनि राज्यको ७ अर्ब ढुकुटीबाट गुमेको छ ।’
आफूहरु सरकारमा रहीञ्जेल विकास निर्माणका लागि पैसा नभएको दाबी गर्दै उनले अहिले सरकारसँग विकास निर्माणमा जतिबेला पनि पैसा छैन भन्ने गुनासो आएको बताए । सरकारमात्र हैन, बैंकमा पनि पैसा छ, यो सरकार त्यसकारण पनि चाँडो हट्न पर्छ । मंसिर ४ मा एउटा समृद्ध राष्ट्रिय शक्ति निर्माणको लागि एमालेको सरकार बन्नुपर्ने जिकिर गरे ।
नेपालमा पानीजहाज ल्याउने कुरा गर्दा विगतमा हास्यपात्र बनाउने गरेको आरोप लगाउँदै अहिलेको सरकारले जलयातायातको मा किन लेख्यो भन्दै भने, एमालेको सरकार आयो भने मेरै आडमा बस्नुभएका समानुपातिकका उम्मेदवार देवीप्रसाद भट्टचनले समुद्रमा नेपालको झण्डा फहराएर पानीजहाज चलाउनु हुनेछ ।’