काठमाडौं । समाजवादी मोर्चाले आगामी माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधबार बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले बताए ।
‘माघ १६ गते काठमाडौंमा समाजवादी मोर्चाको तर्फबाट कार्यक्रम गर्ने निर्णय भएको उनले बताए । बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार काठमाडौंमा गर्ने भनिएको कार्यक्रम आमसभा हो ।
त्यस्तै, यसबीचमा समाजवादी मोर्चाका बैठक र कार्यक्रम सुस्त भएकोबारे गम्भीर समीक्षा भएको पनि उनले जानकारी दिए ।
पार्टीका आन्तरिक कामका कारण समाजवादी मोर्चाको गति सुस्त भएको र अब त्यसलाई अघि बढाउने निर्णय भएको उनले बताए । समाजवादी मोर्चाका सबै गतिविधि र कामको संश्लेषण गरेर प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा रहेको जानकारी गराउँदै उनले शीर्ष नेताहरूलाई उक्त प्रतिवेदन हस्तान्तरणको काम पनि चाँडै हुने जानकारी गराए ।