Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जीवन विकासले १४ प्रतिशत बोनस सेयर दिने



विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको छैंठौं साधारणसभाले बोनस सेयरको वितरणको प्रस्ताव पारित गरेको छ । आइतबार केन्द्रीय कार्यालय कटहरीमा भएको साधारणसभाले आर्थिक वर्ष २०८०÷०८१ को मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

आर्थिक वर्ष २०७०/०८० को वितरण योग्य मुनाफाबाट पनि जीवन विकासले १४ प्रतिशत नै बोनस सेयर वितरण गरेको थियो । आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट पनि सेयर सदस्यहरुका लागि १४ प्रतिशत बोनस वितरण गरेको हो । साधारणसभाले लागि ०.७३६८ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । यो नगद लाभांश बोनस सेयरको कर प्रयोजनसमेतका लागि हो ।

जीवन विकासको चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ थियो । छैंटौं साधारणसभाबाट १४ प्रतिशत अर्थात १८ करोड ८६ लाख ५२ हजार ६४६ रुपैयाँ रुपैयाँ बोनस सेयर पारित भएपछि भएपछि जीवन विकासको चुक्ता पुँजी १ अर्ब ५३ करोड ६१ लाख ७१ हजार ५४६ रुपैयाँ पुगेको छ ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाको कार्यक्षेत्र ३१ जिल्लामा पुगेको छ । यसअघि २४ जिल्लामा कार्यक्षेत्र थियो । कार्यक्षेत्र विस्तार गर्दै जीवन विकासले ३१ जिल्लामा सदस्यहरुको घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको छ । लघुवित्तको शाखा संख्या १६० वटा छन् ।

१६० शाखा कार्यालय मार्फत आर्थिक वर्ष २०८०/०८१ मा ३ लाख ५२ हजार २५९ विपन्न परिवारलाई घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए ।
नेपालको दोस्रो ठूलो लघुवित्तको पहिचान बनाएको जीवन विकासको कुल सम्पति २८ अर्ब २२ करोड ९७ लाख ४ हजार पुगेको छ । लघुवित्तले १० अर्ब ५३ करोड ३० लाख ४३ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । २७ अर्ब २१ करोड ४४ लाख ५० हजार रुपैयाँ ऋण लगानी गरेको छ ।

साधारणसभा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष विक्रमराज सुवेदीले लघुवित्तका लागि विभिन्न अवरोध सृजना भइरहेको बताए ।
जीवन विकासको साधारणसभा उद्घाटन गर्दै मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले लघुवित्तमाथि प्रहार भइरहेको बताएका छन् । व्यवस्थीत रुपमा सञ्चालन भइरहेका लघुवित्तलाई धरासायी बनाउनका लागि योजनावद्ध रुपमा प्रहार भइरहेको बताएका हुन् ।

विपन्न समुदायको जीवनस्तर उकास्नका लागि काम गरिहेका लघुवित्तमाथि प्रहार गरेर देशको अर्थतन्त्रलाई झन कमजोर बनाउने गिरोह सक्रिय रहेको उनको भनाई छ । उनले लघुवित्तको सञ्चालक र व्यवस्थापन समितिलाई सहज र व्यवस्थीत रुपमा सदस्यहरुलाई सेवा प्रवाहमा केन्द्रीत हुन आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार