विराटनगर : नेपाल आइडलबाट चर्चा कमाएका गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच सम्बन्धविच्छेद भएको छ । ७ चैतमा काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको एकल इजलासले भट्टराई र न्यौपानेबीच सम्बन्धविच्छेदको फैसला गरेको हो ।
चैत ७ गते ऋचाले संयुक्त रुपमा निवेदन दिएको र सोहि दिन फैसला गरेको काभ्रेपलान्चोक जिल्ला अदालतका सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिइन् ।
उनले भनिन्, ‘चैत ७ गते उहाँहरुले संयुक्त रुपमा निवेदन दिनुभएको थियो। सोहि दिन न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको हो । मिलापत्रबाट उहाँहरुको सम्बन्धबिच्छेद भएको हो ।’
उनका अनुसार ऋचाले सम्बन्धबिच्छेद गर्दा अंश दाबी भने गरेकी छैनन् ।
२०७७ सालमा मोरङ उर्लाबारीका निशान र पाँचखाल काभ्रेकी ऋचाले कानुनी विवाह गरेका थिए । दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरूले कानुनी विवाहमा परिणत गरे पनि सम्बन्ध ठीकठाक रहन सकेन । निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन् । ऋचा भने मोडलिङ पेसामा आबद्ध छिन् ।