Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जीवन विज्ञानले मनायो तेह्रौं वार्षिकोत्सब



काठमाडौं : अध्यात्मको क्षेत्रमा सक्रिय जीवन विज्ञानले १३ औं वार्षिकोत्सव मनाएको छ ।

शुक्रबार वार्षिकोत्सबलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनका लागि कर्मचारीलाई ध्यान चाहिएको बताएका छन् ।

‘सुशासनका लागि कानुनी प्रक्रियाबाट अगाडि बढ्ने त छदैछ त्यसका पछिल्ला कारबाहीहरु तपाईंहरुले देखिरहनुभएकै छ,’ उनले भने ‘जनतालाई लुटने, ठग्ने, भ्रष्टचार गर्ने प्रवृति बढदो छ त्यसलाई कानुनी कारबाहीलेमात्र हुदैन मानिसलाई राम्रो गर्ने बनाउन, उसलाई खुसी, स्वस्थ्य र सच्चरित्रवान बनाउनु पर्छ त्यसका लागि ध्यान आवश्यक छ ।’

कर्मचारीलाई खुसी, स्वास्थ्य, सक्रिय र उर्जाशील बनाउन गृहमन्त्रालयले स्वजागरण अभियान थालेका बताउँदै मन्त्री श्रेष्ठ यसका लागि जीवन विज्ञानसगँ सहकार्य गरेको बताए । जीवन विज्ञानले योगका प्रमाणित र बैज्ञानिक विधिहरु प्रयोग गरेको साथै कुनै पनि सम्प्रदाय विशेषको नभएर समग्र मानवताका लागि भएको पाएकाले सरकारले सहकार्य गरेको उनको भनाइ थियो ।

कार्यक्रममा जीवन विकास विशेषज्ञ एलपी भानु शर्माले जीवन विज्ञान मानिसको घरघरमा सुख, शान्ति र समृद्धि पु¥याउँन स्थापना भएको बताए । जीवन विकास विशेषज्ञ रमेश नेपालले अध्यात्मको असली ज्ञान र प्रयोगका लागि जीवन विज्ञान स्थापना भएको बताउँदै कुनै जाती, भाषा, धर्म, सम्प्रदायको मात्र नभएर अध्यात्ममा लाग्न चाहने सबैलाई स्वागत गर्ने गरेको बताए ।

कार्यक्रममा लुम्बनी प्रदेशकी प्रमुख सचिव राधिका अर्यालले जीवन विज्ञानले चैत्र १७ गतेदेखि ५ हजार १ जनाको सहभागीतामा बुद्धको जन्मथालो लुम्बिनीमा गर्न लागेको सात दिने विराट चक्र विज्ञान कार्यक्रमलाई लुम्बिनी सरकारबाट गर्नुपर्ने समन्वय र सहयोग गर्न पहल गर्ने बताइन् ।

कार्यक्रममा जीवन विज्ञानको प्रगतिका विषयमा सचिव किरण रुपाखेती र जीवन विज्ञानले सञ्चालन गरेको नव प्रतिभा विज्ञान कार्यक्रमका बारेमा संयोजक आरती ढकालले प्रगति विवरण सुनाउनु भएको थियो । कार्यक्रममा आर्ट अफ लिभिङ र शिवा व्याण्डले भक्ति संगित प्रस्तुत गरेका थिए ।

आध्यात्मिक साधना तथा जीवन व्यवस्थापनका कार्यक्रमहरु सञ्चालन गर्दै आएको जीवन विज्ञानका नेपालभर तीनसय बढी प्रयोगशालामा नियमित कक्षा सञ्चालन भइरहेको र अनलाइन मार्फत पनि विश्वका ६५ ओटा देशमा प्रयोगशालाहरु सञ्चालन भइरहेको संस्थाका सचिव किरण रुपाखेतीले जानकारी दिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार