Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आइसीसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकामाथि नेपालको सहज जित 



विराटनगर : जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा मंगलबार भएको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो ।

टस जितेर बलिङ रोजेको नेपालले अमेरिकालाई २ सय ७ रन जोड्दा ४९ ओभरमा अलआउट बनाएको थियो । अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा भीम सार्कीले १ सय १४ बलमा अविजित ७७ रनको अर्धशतकीय ईनिङ खेले । दीपेन्द्रले ३२ बलमा अविजित ३९ रन बनाए ।

नेपालका ओपनर आसिफ शेख १२ रन बनाएर आउट हुँदा कुशल भुर्तेलले ५४ बलमा ३९ रन बनाएर आउट भए । कप्तान रोहित पौडेलले २९ बलमा १६ रन बनाएर आउँट हुँदा कुशल मल्लले १३ बलमा १३ रन बनाए। पाँचौ विकेटका लागि भीम सार्की र दीपेन्द्र सिंह ऐरीले ६४ बलमा ७४ रनको विजयी साझेदारी गरे ।

अमेरिकाका लागि नोस्तुषा केन्जिगे, सौरभ नेत्राभाल्कर, निशर्ग पटेल र स्टेभन टेलरले समान १ १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाका लागि शायन जाहान्गिरले ७९ बलमा अविजित १ सय रनको शतकीय ईनिङ खेले । पहिलो चारवटा विकेट सस्तोमा गुमाएको अमेरिकाका मध्यक्रमका खेलाडीले खेल लयमा फर्काएका थिए । गजानन्द सिंह ४१ बलमा २६ रन बनाएर आउट भए । ओपनर मोदानीले ७१ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाए ।

नेपालका लागि करण केसीले ९ ओभरमा ३३ रन खर्चिएर ४ विकेट लिए । गुलसन झाले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ललितनारायण राजवंशी १ विकेट आफ्नो नाममा गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार