Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

हक्कीमा आर्मी र पुलिस विजयी



विराटनगर : गिरिजाप्रसाद कोइराला स्मृतिमा विराटनगरमा जारी चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाल आर्मी र नेपाल पुलिस विजयी भएका छन् । बिहीबार भएको खेलमा नेपाल पुलिसले गण्डकी प्रदेश र नेपाल आर्मीले कर्णाली प्रदेशलाई पराजित गरेको हो ।

पुलिसले गण्डकीलाई ८–० गोलअन्तरमा पराजित गरेको हो । पुलिसका लागि महेश धामीले ५ तथा आयुष साह, केशव जोशी र रोहित लामाले समान १–१ गोल गरे ।

यस्तै कर्णाली प्रदेशलाई १३–० फराकिलो गोल अन्तरले हराउँदै आर्मी तालिकाको शिर्ष स्थानमा रहेको छ । आर्मीले दुई खेलबाट ६ अंक बटुलेको छ । आर्मीको जितमा रोमन रानाले ६, प्रदीप राजवंशीले ३, अमरबहादुर गुरुङले २ तथा रंजित राउत, देवसिंह धामीले समान १–१ गोल गरे ।

यस्तै आजै भएको कोशी प्रदेश र मधेस प्रदेशबीचको खेल बराबरीमा सकिएको छ ।
दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै १–१ अंक बाँडेका हुन् ।

कोशीका लागि विसु घिमिरे र मनोज चौधरीले गोल गर्दा मधेसका लागि पंकज दाहाल र राहुल साहले गोल गरे ।

चैत २७ गतेसम्म हुने प्रतियोगितामा ७ टिमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ४१ हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार