Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

साविक विजेता एपीएफलाई हराउँदै भारतको लुका सकर विराट गोल्डकपको फाइनलमा



विराटनगर : विदेशी टोली लुका सकर क्लब साविक विजेता सशस्त्र प्रहरीलाई हराउँदै विराटनगरमा जारी सातौँ संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार शहिद रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा एपीएफलाई पेनाल्टी सुट आउटमा ४–२ गोलले हराउँदै भारतको लुका सकर क्लब फाइनल प्रवेश गरेको हो ।

उपाधिका लागि अब लुका सकरले घरेलु टिम विराटनगर सिटी एफसीसँग खेल्नुपर्नेछ ।

निर्धारित ९० र अतिरिक्त थप गरिएको ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा सशस्त्रका दिपेश धिमाल र सविन गुरुङले गोल गर्दा विशाल सत्याङ र गोलकिपर राजु नगरकोटी गोल गर्नबाट चुके । विशालले प्रहार गरेको बल लुका सकरका गोलकिपर सानफिरले उत्कृष्ट बचाउ गरेका थिए भने नगरकोटीको प्रहार पोलमा लागेर बाहिरिएको थियो ।

लुका सकरका लागि चाक्लेस, मोहोमद रफी, मो. आरसानो र पउल ओपारेले गोल गरे । एपीएफका किपर राजु नगरकोटीले लुका सकरका क्याम्भो हिनले प्रहार गरेको बल बचाए पनि हारबाट जोगाउन सकेनन् ।

आजको खेलको म्यान अफ द म्याच लुका सकरका गोलकिपर सानफिर घोषित भए । उनले ११ हजार रुपैया प्राप्त गरेका छन् ।

प्रतियोगिताको उपाधिका लागि लुका सकरले घरेलु टोली विराटनगरसँगै विहीबार खेल्ने छ ।

उपाधि विजेताले २० लाख १५ हजार नगद पुरस्कार प्राप्त गर्दा उप विजेता हुने टिमले १० लाख २५ हजार प्राप्त गर्ने छ । यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार