विराटनगर : विराटनगरमा जारी सातौँ संस्करणको विराट गोल्डकपमा आज समूह ‘बि’को दोस्रो खेल संकटा ब्वाइज स्पोर्ट्स क्लब र भारतको लुका सकर क्लबबीच प्रतिस्पर्धा हुँदै छ । विराटनगरस्थित शहीद रंगशालामा हुने प्रतियोगिताको चौथो खेल नेपाली समयानुसार राति ६ः४५ बजेपछि सुरु हुनेछ ।
समुह ‘ए’ बाट घरेलु टिम विराटनगर सिटी र जावलाखेल युथ क्लब सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । दुवै टिमले विभागीय क्लबलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् ।
विराटनगरले नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो भने जावलाखेलले आर्मीलाई सडनडेथमा ६–५ गोलले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।
यस्तै सशस्त्र प्रहरीको एपीएफ क्लबले पनि सेमिफाइनलमा स्थान सुरक्षित बनाएको छ । शनिबार भएको खेलमा विदेशी टोली भुटानको ड्रक लयुल क्लबबीलाई २–१ ले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । फाइनल प्रवेशमा लागि एपीएफले आजको विजेता टिमसँग खेल्नुपर्नेछ ।
चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशीसहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता हुने टिमले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।