विराटनगर : विराटनगरमा जारी सातौँ संस्करणको विराट गोल्डकपमा आज समूह ‘बि’को पहिलो खेलमा सशस्त्र प्रहरी र भुटानको ड्रक लयुल फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
विराटनगरस्थित शहीद रंगशालामा हुने प्रतियोगिताको तेस्रो खेल नेपाली समयानुसार राति ७ बजेपछि सुरु हुनेछ ।
समुह ‘ए’ बाट भने घरेलु टिम विराटनगर सिटी र जावलाखेल युथ क्लब सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । दुवै टिमले विभागीय क्लबलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् ।
विराटनगरले नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो भने जावलाखेलले आर्मीलाई सडनडेथमा ६–५ गोलले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।
एपिएफ र ड्रक लयुल क्लबबीचको विजेताले फाइनल प्रवेशका लागि संकटा र भारतको लुका सकर क्लबबीचको विजेतासँग खेल्नुपर्नेछ ।
चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशीसहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता हुने टिमले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।