Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

साविक विजेता सिरहालाई हराउँदै झापाको ध्रुवताराले जित्यो मिल्स गोल्डकपको उपाधि



विराटनगर : झापाको ध्रुवतारा युवा क्लबले तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । शनिबार विराटनगरस्थित जुट मिलको खेलमैदानमा सम्पन्न फाइनलमा साविक विजेता सिरहा गोलबजारको प्रतिभा फुटबल क्लबलाई ३–२ गोलले हराउँदै ध्रुवताराले उपाधि जितेको हो ।

खेलको १६ औं मिनेटमा झापाका गौरव धिमालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसको २१ मिनेटपछि अर्थात खेलको ३७ औंं मिनेटमा प्रविण राईले अर्को गोल गर्दै ध्रुवतारालाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

दोस्रो हाफको ५० औं मिनेटमा सिरहाका बिनु आले मगरले गोल गर्दै खेल २–१ मा फर्काएका थिए । तर त्यसको ५ मिनेटपछि झापाका गौरव धिमालले व्यक्तिगत दोस्रो गोल गर्दै ३–१ को अग्रता दिलाए ।

यस्तै खेलमा अतिरिक्त समयमा सिरहामा बिधान लामाले गोल फर्काए पनि टिमलाई जिताउन सकेनन् । फाइनल खेलमा दुई गोल गरेका ध्रुवताराका गौरव धिमाल खेलको म्यान अफ द फाइनल घोषित भए ।

जीतसँगै झापाले २ लाख ११ हजार रुपैयाँ र उपबिजेता सिरहाले १ लाख ११ हजार रुपैयाँमा पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगिातको उत्कष्ट गोलरक्षक झापाका आयुष लिम्बु, मिड फिल्डर सिरहाका सुजन पुलामी, डिफेन्समा गोलबजारका मुकेस माझी, बेस्ट फरवार्ड झापाका प्रविण राई, उत्कृष्ट कोचमा झापाका सन्दिप मगर घोषित भए । प्रतियोगिताको सवोत्कृष्ट खेलाडी झापाका प्रविण राई घोषित भए ।

फागुन २७ देखि चैत ४ गते सम्म संचालन भएको गोल्डकपमा मोफसलका ‘ए’ डिभिजनका ८ वटा टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार