Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सन्दीपको ‘सरप्राइज’ ब्याटिङमा नेपालको पुनारागमन जीत



विराटनगर : दुबईमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्यु गिनिमाथि पुनारागमन जीत दर्ता गरेको छ । खेलको सुरुवाती चरणदेखि नै खराब ब्याटिङ गरेको नेपालका लागि सातौँ नम्बरमा मैदान प्रवेश गरेका सन्दीप लामिछानेले ‘सरप्राइज’ ब्याटिङ गरे ।

क्रिकेटमा बलिङबाट उदाएका लामिछानेले आठौँ विकेटका लागि ओपनर आसिफ शेखसँग कीर्तिमानी साझेदारी गरे । उनीहरुले ७७ रनको अविजित साझेदारी बनाउँदा नेपालले तीन विकेटको जीत दर्ता गरायो ।

टस जितेर ब्याटिङ रोजेको पीएनजीले ४९.२ ओभरमा सबै विकेट गुमाएर एक सय ८० रनको लक्ष्य दिएको थियो ।

एक सय ८० रनको लक्ष्य पाएको नेपालले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपाललाई जीत दिलाउन ओपनर आसिफ शेखले उत्कृष्ट ब्याटिङ गरे । उनले १ सय ३० बलमा अविजित ८६ रन बनाए । यस्तै शेखसँग ७७ रनको साझेदारी बनाएका सन्दीपले ५० बलमा अविजित ३५ रन बनाए । सन्दीपले बनाएको यो स्कोर उनको करियरकै सबैभन्दा ठूलो स्कोर हो ।

पहिलो बलमै ओपनर कुशल भुर्तेलको विकेट गुमाएको नेपालका लागि कुशल मल्लले २३, ज्ञानेन्द्र मल्ल ६, भिम सार्की ८, दीपेन्द्रसिंह ऐरी ८ र अलराउन्डर कुशल मल्ल २३ रनमा आउट बन्न पुगे । कप्तान रोहित पौडेल र आरिफ शेखले समान १/१ रन बनाएर आउट भए ।
पीएनजीका लागि असद भालाले ३ तथा सिमो कमया र सेसे बाउले समान २/२ विकेट लिए ।

पहिला ब्याटिङ गरेको पीएनजीका लागि टोनी उराले ३९ रनको सर्वाधिक ठूलो ईनिङ खेले । हिरी हिरी २९, किप्लीन डोरीगा २६, गौडी टोका १५, नर्मन भानुवा १४ तथा सेसे बाउ र कप्तान असद भालाले समान ११/११ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिँदा कुशल मल्ल, सन्दीप लामिछाने र करण केसीले समान १/१ विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार