काठमाडौं । नेपालले संयुक्त अरब इमिरेट्स(युएई)मा जारी आईसीसी यू–१९ पुरुष विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
ईडन ग्राडेन ओभल अजमान मैदानमा शुक्रबार भएको खेलमा नेपालले सिंगापुरलाई ९६ रनले हराउदै विजय यात्रा सुरु गरेको हो। नेपालले दिएको दुई सय ६२ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सिंगापुरले ५० ओभरमा सात विकेटको क्षतिमा एक सय ६५ रनमा समेटिएको थियो ।
सिंगापुरका लागि आर्यन मोदीले ५८ रन बनाए । सिद्धान्त श्रीकान्तले ४४, अर्जुन नागपल र अवुद्ध चाजेरले १४–१४ रन बनाए। बलिङमा नेपालका हेमन्त धामी र सुवास भण्डारी दुई दुई तथा विशाल विक्रम केसीले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ६१ रनको स्कोर बनाएको थियो ।नेपालका लागि आकाश त्रिपाठीले ७८ रन बनाए । विशालविक्रम केसीले ६३, अर्जुन कुमाल ३७, कप्तान देव खनालले २१, दीपक बोहोराले १७, सुवास भण्डारीले अविजित १२ र दीपक डुम्रेले १० रन बनाए ।
बलिङमा सिङ्गापुरका लागि आर्यभार चौधरी र अभ्युदय छन्जिरले दुई दुई विकेट लिए। छनोट प्रतियोगितामा आयोजक यूएई, नेपाल, सिङ्गापुर, कुबेत, हङकङ र मलेसियाको सहभागिता छ ।
नेपालले दोस्रो खेल शनिबार कुवेतसँग खेल्नेछ । राउण्ड रोविन लिगका आधारमा सञ्चालित प्रतियोगिताको शीर्षटोली सन् २०२४ मा श्रीलङ्कामा हुने विश्वकपमा छनोट हुनेछ ।