विराटनगर : विराटनगरमा सम्पन्न केपी ओली खुला दौड (रोडरेस) प्रतियोगिताको उपाधि सशस्त्र र नेपाली सेनाले जितेका छन् । महिला र पुरुष गरी फरकफरक विधामा भएको प्रतियोगिताको पुरुषतर्फको नेपाली सेना र महिलातर्फको सशस्त्र प्रहरीले जितेको हो ।
पुरुषतर्फ भएको खुला दौडमा नेपाली सेनाका मुकेश नेपाली प्रथम भए । उनले १४ मिनेट ४५ सेकेन्डमा निर्धारित दूरी पूरा गरे ।
त्यस्तै, नेपाली सेनाका श्रीकाश द्वितीय हुँदै १४ मिनेट २६ सेकेन्डमा दूरी पूरा गरे भने नेपाली सेनाकै टंक कार्की तेस्रो भए । उनले १४ मिनेट ३३ सेकेन्डमा दूरी पूरा गरेका थिए । नागेश्वर अहिर र मिनल कार्की क्रमश चौँथो र पाँचौँ भएका छन् ।
नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशनको अवसरमा आयोजित केपी ओली रोडरेस प्रतियोगिताको महिलातर्फको दौडमा सशस्त्र प्रहरीकी फूलमति रानाले १८ मिनेट ११ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् ।
नेपाल प्रहरीकी राममाया बुढा १८ मिनेट १६ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो हुँदा सशस्त्र प्रहरीकी सीमा चौधरीले तेस्रो हुँदै निर्धारित दूरी पूरा गर्न १८ मिनेट २७ सकेन्ड लगाउनुपर्यो ।
नेपाल प्रहरीकी सुमित्रा चौधरी र भोजपुरकी छेन्नीमाया राई चौथो र पाँचौँ भएका छन् ।
उनीहरूलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
प्रथम, द्वितीय, तृतीय, चौँथो र पाँचौँ हुनेले महिला–पुरुष दुवै समूहका विजेतालाई क्रमश: ५१ हजार, ३१ हजार, १५ हजार, ८ हजार पाँच हजार नगद प्रदान गरिएको केपी ओली खुला दौड (रोडरेस) प्रतियोगिताका संयोजक अनिरुद्र चौधरीले जानकारी दिए ।