Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पुष्पलाल स्मृति ब्याडमिन्टनमा पुलिसका प्रिन्सलाई दोहोरो सफलता



विराटनगर : नेपाल पुलिसका प्रिन्स दाहालले विराटनगरमा जारी ‘लिनिङ्ग १२ औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता–२०२३’ मा दोहोरो सफलता हात पारेका छन् ।

पहिलो दिन राष्ट्रिय च्याम्पियन एवं विश्व वरीयतामा जुनियरतर्फ उच्चस्थानमा रहिसकेका प्रिन्सले पहिलो खेलमा कास्कीका विधान अधिकारीलाई २१–१७, २१–११ ले तथा अर्को खेलमा नेपाल पुलिसका पूर्ण बोहराबाट वाकओभर प्राप्त गर्दै दोहोरो जित प्राप्त गरेका हुन् ।

नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरीयतामा रहेका खेलाडीहरुको पुरुष एकलतर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लबका रुकेश महर्जनले पनि दोहोरो सफलता प्राप्त गरेका छन् । महर्जनले पहिलो खेलमा कास्कीका भूगोल गुरुङ्गबाट वाकओभर प्राप्त गरेका थिए भने दोस्रो खेलमा एपीएफका रोशन साउदलाई २१–११, २१–१३ ले पराजित गरे ।

दोहोरो जित हात पार्ने क्रममा पुलिसका विष्णु कटुवाल पनि रहे । उनले पहिलो खेलमा एपीएफका रोशन साउदलाई २१–१३, २१–१४ ले तथा दोस्रो खेलमा कास्कीका भूगोल गुरुङ्गबाट वाकओभर प्राप्त गरे ।

यस्तै, एपीएफका देवराज रानाले पनि दोहोरो सफलता प्राप्त गरे । पहिलो खेलमा एपीएफका विजित थापा मगरलाई २१–१९, २२–२० ले पराजित गरेका रानाले दोस्रो खेलमा पुलिसका दीपक बोहरालाई २१–९, २३–२१ ले पराजित गरे ।

पुलिसका जीवन आचार्यले पहिलो खेलमा पुलिसकै पूर्णबहादुर थापाबाट वाकओभर प्राप्त गरेकोमा दोस्रो खेलमा कास्कीका विधान अधिकारीसँग १७–२१, १७–२१ ले पराजित भए । एपीएफका क्षितिज खनालले पनि दोहोरो जित हात पारे । पहिलो खेलमा पुलिसका दीपक बोहरालाई २१–१५, २१–१२ ले पराजित गरेका खनालले दोस्रो खेलमा एपीएफका विजित थापा मगरलाई २१–१२, २१–१० ले पराजित गरे ।

3 (3) (1)1676384720.jpg

पुलिसका सुनील जोशीले पहिलो संघर्षपूर्ण खेलमा आर्मीका नरेन्द्र बमलाई २१–७, १४–२१, २१–१४ ले र दोस्रो खेलमा आर्मीका अनिल मल्ललाई २२–२०, २१–९ पराजित गरे । आर्मीका प्रफुल महर्जनल पहिलो खेलमा आफ्नै क्लबका अनिल मल्ललाई २१–६, २१–१०, ले तथा दोस्रो खेलमा आर्मीकै नरेन्द्र बमलाई २१–८, २१–७ ले पराजित गर्दै दोहोरो जित हात पारेका हुन् । १६ वरीयतामा रहेका खेलाडीहरुलाई चार समूहमा विभाजन गरी लिगका आधारमा खेल खेलाइएको छ ।

नेकपा (एमाले)को भ्रातृ संस्था नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजना तथा मोरङ्ग जिल्ला ब्याडमिन्टन संघको सहआयोजनामा भएको प्रतियोगिताको शीर्ष १२ औँ वरीयतामा रहेको महिला एकलतर्फको खेलमा राष्ट्रिय च्याम्पियन आर्मीकी रशिला महर्जनले कैलालीकी अनिला सुनारलाई २१–७, २१–७ को सोझो सेटमा पराजित गरिन् ।

यस्तै, आर्मीकै अमिता गिरीले कञ्चनपुरकी निलम महराबाट रिटायर्डहर्टको आधारमा जित पाइन् । ५–१ को अवस्थामा महरा चोट बोक्न पुगेकी थिइन् । इटहरीमा आयोजना भएको राष्ट्रिय ¥याङ्किङ्ग प्रतियोगिता जितेकी एपीएफकी जेशिका गुरुङ्गले मोरङ्गकी सिमा राजवंशीबाट वाकओभर प्राप्त गरिन् । महिलातर्फ पनि १२ शीर्ष वरीयतामा रहेको खेलाडीहरुलाई चार समूहमा विभाजन गरी लिगको आधारमा प्रतियोगिता सञ्चालन गरिएको छ ।

जित निकालेर दोस्रो चरण प्रवेश गर्ने क्रममा काठमाडौं ब्याडमिन्टन एकेडेमीका बबिस थापाले पर्साका विशेष राईलाई २१–९, २१–२ ले पन्छाए ।

प्रतियोगिताको प्रदेश नं. १ का खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्गबो लिम्बुले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहने प्रतियोगितामा शीर्ष १६ वरीयतामा रहेका पुरुष एकल, शीर्ष १२ वरीयतामा रहेका महिला एकल, शीर्ष १६ वरीयताबाहेकका पुरुष एकल, शीर्ष १२ वरीयताबाहेकका महिला एकल, पुरुष र महिला युगल, यू–१७ छात्र र छात्रा एकल, भेट्रान ४५ वर्षमाथि र ५५ वर्षमाथि गरी १० विधामा करिब २०६ खेलाडीहरुको सहभागिता रहेको छ ।

करिब २४ लाख ८४ हजारको लागत रहेको प्रतियोगिताको पुरस्कार राशी पाँच लाख ९८ हजार रहेको छ । जसअन्तर्गत शीर्ष १६ वरीयता पुरुष र शीर्ष १२ वरीयता महिलातर्फको खेल लिग कम नकआउटका आधारमा हुने छ । यस विधामा खेल्ने खेलाडीहरुले खेलमा सहभागिता जनाउने बित्तिकै नगद एक हजार ५०० प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार