Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरलाई हराउँदै लुम्बिनी बन्यो नेपाल टि–२० लिग च्याम्पियन



विराटनगर : विराटनगर सुपर किङ्सलाई २४ रनले पराजित गर्दै लुम्बिनी अल स्टारले नेपाल टी–२० लिगको बुधबार भएको फाइनलमा पहिलो संस्करणको उपाधि जितेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजक रहेको लिगको उपाधिसंगै लुम्बिनीले ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो । उपविजेतामा चित्त बुझाएको विराटनगरले ३० लाख पुरस्कार प्राप्त गर्यो ।

यस्तै, तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले पाँच लाख रुपैयाँ पायो ।

लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो ।

विराटनगरका लागि अर्जुन साउदले ३४ रन बनाउँदा पृथु बास्कोटाले ३१ रन बनाए । हुसेन तलतले १३ रन बनाउँदा अन्यले दोहोरो अंकको रन बनाउँन सकेनन् ।

लुम्बिनीका लागि हरमित सिंह र सागर ढकालले समान दुई दुई विकेट लिए । विपुल शर्मा र किशोर महतोले समान एक एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.२ ओभरमा अलआउट भएर १ सय ३३ रन बनाएको थियो ।

लुम्बिनीका लागि लाहिरु मिलन्थाले २८ बलमा ४१ रन तथा हरमित सिंहले ३० रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले २० तथा इशान पाण्डेले १८ रन बनाए ।

उसका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विराटनगरका लागि रान नानन र नन्दन यादवले समान दुई दुई तथा हुसेन तलत,कियोन जोशेफ,सुर्य तामाङ र कप्तान रोहित पौडेलले समान एक एक विकेट लिए । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार