Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आहारारा गोल्डकपको उपाधि संकटालाई



काठमाडौं : फाइनलमा शनिबार अमेरिकाको भुटनिज युथ एसीलाई हराउँदै संकटा क्लबले २२ औँ आहा रारा गोल्डकपको उपाधि जितेको छ ।

पोखरा रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा संकटाले भुटनिज युथलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै दोस्रो पटक उपाधि जितेको हो ।

संकटाले यसअघि २०७७ सालमा पहिलोपटक आहा रारा गोल्डकपको उपाधि जितेको थियो ।

खेल अतिरिक्त समयमा पुग्नुअघि निर्धारित समयमा संकटा र भुटनिज युथले २–२ को बराबरी खेलेका थिए । त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलको ११७ औँ मिनेटमा कप्तान सुनिल बलले गरेको गोल नै संकटाको जितमा निर्णायक बन्यो ।

यसअघि खेलको आठौँ मिनेटमा सुरज जिउ ठकुरीले संकटालाई अग्रता दिलाएका थिए । खेलको ३५ औँ मिनेटमा मेसुके ओलोमोउले संकटाको अग्रता दोब्बर बनाए ।

३७ औँ मिनेटमा भुटनिज युथका रिनी सान्तिलोनले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएका थिए । यस्तै, पहिलो हाफको इन्जुरी समयमा विली ग्रिफिथले हेडर गोल गर्दै भुटनिज युथलाई खेलमा फर्काएका थिए । यसपछि निर्धारित समयमा गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

उपाधिसँगै संकटाले १२ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । यस्तै, उपविजेतामा चित्त बुझाएको भुटनिज युथले ६ लाख रुपैयाँ पुरस्कार पायो । भुटनिज युथले पहिलोपटक आहा रारा गोल्डकपमा सहभागिता जनाएको हो ।

उपाधिसम्मको यात्रा तय गर्दा संकटाले क्वार्टरफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ तथा सेमिफाइनलमा साविकको विजेता एपीएफ फुटबल क्लबलाई ४–१ ले हराएको थियो ।

यता भुटनिज युथले क्वार्टरफाइनलमा मनाङ मर्स्याङ्दी तथा सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई समान १–० ले हराउँदै पहिलोपटक फाइलनमा स्थान बनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार