Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

फार वेस्टलाई हराएसँगै विराटनगरको प्लेअफ पुग्ने सम्भावना जीवितै



विराटनगर : काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिगमा विराटनगर सुपर किंग्सले रोमाञ्चक जित हात पारेको छ । शुक्रबार भएको खेलमा उसले फार वेस्ट युनाइटेडविरुद्ध तीन रनको जित हात पारेको हो ।

यो जितसँगै विराटनगरको प्लेअफ सम्भावना जीवितै रहेको छ । ९ खेलमा चारमा जित र पाँच खेलमा हार बेहोरेको ऊ ८ अंकसहित तालिकाको चौथो स्थानमा छ । आजको हारपछि फार वेस्ट भने प्रतियोगिताबाट बाहिरिएको छ । पुछारमा रहेको उसले ९ म्याचमध्ये सातमा हार र दुई खेलमा मात्र जित निकाल्यो ।

आफ्नो नवौँ खेलमा विराटनगरले दिएको १ सय ४८ रनको रनको लक्ष्य पछ्याएको फार वेस्टले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान हशमतुल्लाह शाहिदीले अर्धशतकीय पारी खेले ।

४६ बलको सामना गरेका उनले ८ चौका र एक छक्काको मद्दतमा ५८ रन बनाए । त्यस्तै, उमेर अलीले २३, नूर अहमद र विनोद भण्डारीले १०/१० रन जोडे । विराटनगरका लागि राज नाननले तीन, सूर्य तामाङले दुई, नन्दन यादव र केओन जोसेफले एक/एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन बनायो । उसका लागि हुसेन तलतले उत्कृष्ट अर्धशतक बनाए । उनले २९ बलमा पाँच चौका दुई छक्कासहित ५० रन जोडे ।
त्यस्तै, अर्जुन साउँदले २२, कप्तान रोहितकुमार पौडेलले २१ र विवेक यादवले अविजित ३५ रनको योगदान दिए । फार वेस्टका लागि उमेर अलीले दुई, करण केसी र दुर्गेश गुप्ताले एक/एक विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार