Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेपाल टी-२० लिग : विराटनगरलाई हराउँदै लुम्बिनी प्ले अफमा



विराटनगर : जारी नेपाल टी-२० लिगमा विराटनगर सुपर किङ्ग्सलाई १२ रनले पराजित गर्दै लुम्बिनी अल स्टार्सले प्ले अफमा स्थान बनाएको छ ।

सातमध्ये ६ खेलमा जित निकालेको लुम्बिनी प्ले अफमा पुग्ने पहिलो टिम हो। आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको लुम्बिनीले विराटनगरलाई ९ विकेटको क्षतिमा १२२ रनको लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले १९.३ ओभरमा ११० रन बनाएर अलआउट भयो । विराटनगरका लागि ओपनर अर्जुन साउदले ४१ तथा विवेक यादवले १९ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

बलिङतर्फ लुम्बिनीका लागि ह्यारी टेक्टर, शाड्ली भान स्कालक्यक र तिलक भण्डारीले दुई–दुई विकेट लिए। त्यसबाहेक दीपेन्द्रसिंह ऐरी, हरमित सिंह र किशोर महतोले एक–एक विकेट लिए।

पहिलो इनिङमा लुम्बिनीका लािग दीपेन्द्रले ४२ बलमा ६ चौकासहित अविजित ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए।

विराटनगरका लागि नन्दन यादव, सूर्य तामाङ र विवेक यादवले दुई–दुई विकेट लिए। त्यसबाहेक राज ननन र किओन जोसेफले एक–एक विकेट लिएका थिए।

जितसँगै सात खेलबाट १२ अंक जोडेको लुम्बिनी शीर्ष स्थानमा छ। पराजित विराटनगर ६ खेलबाट चार अंक जोडेर पाँचौं स्थानमा छ।

प्रतिक्रिया
सम्बन्धित समाचार