काठमाडौ । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको ट्रफी उचालेसँगै कतार विश्वकप २०२२ भव्यताका साथ सकिएको छ।
कतारले विश्वकप आयोजना गर्दा थुप्रै कीर्तिमान आफ्नो नाममा लेखायो। रंगशाला निर्माणका क्रममा ज्यान गुमाएकासहित केही विवादबीच कतारले विश्वकप आयोजना गर्दा कुनै पक्षमा कमी हुन दिएन।
यो विश्वकप २०२२ सकिएपछि अब धेरैको ध्यान २०२६ मा कस्तो होला भन्ने चासो बढेको छ। कतार एक्लैले आयोजना गरेको फुटबलको महाकुम्भ सन् २०२६ भने तीन राष्ट्रले संयुक्त आयोजक छन्।
कतार विश्वकपभन्दा २०२६ को विश्वकप धेरै पक्षबाट फरक हुनेछ। विश्वकपका खेल हेर्न अब दर्शकहरुले तीन देशको भ्रमण गर्नुपर्ने हुन्छ।
क्यानडा, अमेरिका र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपमा १६ टोली थपिनेछन्। अहिले ३२ टोलीले स्पर्धा गरेकोमा अब ४८ टोलीले स्पर्धा गर्नेछन्। एसिया र अफ्रिकाबाट कम्तीमा पनि ६ टोली थपिने भएका छन्। यो संख्या ९ पनि हुनसक्नेछ।
त्यस्तो अवस्थामा खेल पनि अहिलेभन्दा बढी हुनेछन्। कतार विश्वकपमा फाइनलसहित ६४ खेल भएका थिए।
२०२६ को मध्य जुनमा हुने विश्वकप ५ हप्तासम्म चल्नेछ। विश्वकपका खेलहरु अमेरिकाका ११ सहर, मेक्सिकोको ३ र क्यानडाको दुई सहरमा हुनेछन्।
२०२६ मा हुने विश्वकपमा खेलाडी, समर्थक, मिडिया र फिफा अफिसियलका लागि तीन देशमा यातायातको सुविधा पुर्याउन केही गाह्रो हुने पक्कै छ।
८८८
फिफाले यसअघि नै २०२६ को विश्वकपमा ४८ टोली सहभागी हुने निर्णय गरिसकेको छ। यसका लागि प्रायोजक, व्यापारीकरण, टिकट बिक्री र प्रसारण राजस्व गरी फिफाले अबको चार वर्षमा कम्तीमा ११ अर्ब कमाउने लक्ष्य राखेको छ।
फिफाले आगामी विश्वकपमा साढे ५ मिलियन समर्थकलाई विश्वकपमा उपस्थित गराउने गरी काम सुरु गरेको छ।
यसअघि सन् १९९४ मा भएको विश्वकपमा ३।६ मिलियन समर्थक उपस्थित थिए। एक खेलमा कम्तीमा ६८ हजार दर्शक उपस्थित गराउनेछ।
फिफाले धेरैभन्दा धेरै आम्दानी गरेर फुटबल विकासका लागि लगानी गर्ने र महिला फुटबलमा पनि लगानी बढाउने आशा गरेको छ।
सन् २०२६ को विश्वकपका लागि १६ स्थान घोषणा भइसकेका छन्। ती स्थानको स्तरोन्नतिका लागि काम सुरु भइसकेको छ।
फिफाले कृत्रिम मैदानमा विश्वकप आयोजना गर्न अनुमति नदिने भएकाले रंगशालामा दुबो रोप्ने काम सुरु हुनेछ।
सन् २०२६ को विश्वकपमा ८० खेल हुनेछन्। अमेरिकामा क्वार्टरफाइनलसहितका ६० खेल हुनेछन्। क्यानडा र मेक्सिकोमा १०,१० खेल हुने छन्।
अमेरिकाले सन् १९९४ कै केही स्टेडियमको प्रयोग गर्नेछ। मेक्सिकोमा १९७० र १९८६ को एउटा स्टेडियम छ। मेक्सिको सिटीको प्रतिष्ठित एस्टेडियो एज्टेका स्टेडियम मात्र छ।
२०२६ को विश्वकपका लागि फिफाले २०२३ मा निर्णय गर्नेछ।
मेक्सिकोको द एस्टाडियो अज्टेका फुटबल स्टेडियम। जहाँ आगामी विश्वकपका खेल हुनेछन्। यसअघि सन् १९७० र १९८२ को विश्वकपका खेल पनि यहीँ भएका थिए।
विश्वकपमा सहभागी हुने ४८ टोलीलाई तीन टोलीको १६ ग्रुपमा विभाजन गराइनेछ। यसअघि समूह चरणका टोलीले तीन खेल खेल्दा अब समूह चरणका टोलीले दुई खेल खेल्नेछन्।
पहिलो चरणमा १ टोलीलाई बाहिर राख्दै शीर्ष स्थानमा रहने २ टोलीले राउण्ड अफ ३२ मा स्थान सुरक्षित गर्नेछन्। यसबारे थप निर्णय गर्न बाँकी छ।
अहिलेसम्म निर्धारित ९० मिनेटमा बराबरी हुँदा खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिने गरिन्थ्यो।
तर अबको विश्वकपमा खेललाई अतिरिक्त समयमा नपुर्याई सिधै पेनाल्टी सुटआउटबाट निर्णय लिन पनि सकिनेछ। खेललाई अतिरिक्त समयमा पुर्याइने छैन।
सन् २०२६ को विश्वकपको उद्घाटन खेल मेक्सिकोमा हुने सम्भावना छ। यद्यपि यसबारेमा निर्णय भने भइसकेको छैन।
बीबीसीबाट